एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फको फाइनलमा पुलिस र न्यु डायमण्ड भिड्ने

पोखरा स्पोर्ट्स ।  जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिस फाइनलमा पुगेको हो । पुलिसले चार सेटको खेलमा २५-१२, २९-३१, २५-१४ र २५-१८ को जित निकालेको थियो । 

यसअघि, शुक्रबारै बिहान भएको पहिलो सेमिफाइनलमा न्यु डायमण्डले नेपाल एपीएफ क्लबलाई २५-१७, २५-२० र २५-७ को सोझो ३-० को सेटमा जित हासिल गर्दै फाइनलमा पुगेको थियो । अब, पुलिस र डायमण्ड बीचको फाइनल खेल शनिबार दिउँसो १ बजे हुनेछ । 

प्रतियोगितामा पुरुषतर्फको फाइनल खेल पनि शनिबारै हुनेछ । यस पटकको च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरि कुल २० टोली सहभागी थिए। च्याम्पियनसिपबाट उत्कृष्ट ८ पुरुष र ६ महिला टोली छनोट गरिनेछ। ती टोलीले दशौं पीएम कप-एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहभागिता जनाउने अवसर पाउने छन् ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको विजेता टोलीले ट्रफीसहित समान नगद ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल संघले जानकारी दिएको छ । त्यस्तै उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार र विधागततर्फ उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close