
पोखरा स्पोर्ट्स । पोखरा महानगर पालिकाले १६औं संस्करणको कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड जित्दै लगातार चौथो पटक उपाधि आफ्नो नाममा लेखाएको छ । पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा सर्वाधिक पदक जित हात पार्दै पोखरा महानगरले शिल्ड जित्दै चौथो पटक उपाधिमा आफ्नो नाममा लेखाएको हो ।
पोखराले प्रतियोगितामा समावेश भएका चार खेल इभेन्टमा २० स्वर्ण ८ रजत र ६ काश्यसहित कुल ३४ पदकका साथ शिल्ड उचाल्दा प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका २ स्वर्ण, ७ रजत र ८ काश्य पदकका साथ दोस्रो तथा अन्नपूर्ण गाउँपालिका २ स्वर्ण, ५ रजत र ७ काश्य पदकका साथ तेस्रो स्थान हात पारेको छ । त्यस्तै रुपा गाउँपलिकाले २ स्वर्ण ४ रजत र ५ काश्य पदक जितेर चौथो स्थान तथा मादीले १ रजत र १ काश्य पदक जित्दै अंक तालिकाको पुछारमा रह्यो ।

प्रतियोगिता अन्तर्गत एथलेटिक्स, भलिबल र कबड्डीका स्पर्धा भएका थिए । पोखरा महानगर सम्पन्न छात्र–छात्रा भलिबलमा जित हात पार्दै च्याम्पियन हुदा कबड्डीमा समेत छात्र–छात्रातर्फ नै टिम च्याम्पियन हुन सफल भयो ।
उपाधि बिजेता पोखरा महानगरको टिम लगायत अन्य टिम तथा खेलाडीहरुलाई टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष एवं पोखरा महानगरका बरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङ, प्रतियोगिताका संयोजक रामचन्द्र गिरी, कार्यालय प्रमुख डिबी नेपाली लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
एथलेटिक्समा पोखरा महानगरको वर्चस्व
कास्की जिल्लामा सम्पन्न १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ अन्तर्गत एथलेटिक्सतर्फ पोखरा महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा वर्चस्व कायम गरेको छ ।
एथलेटिक्सतर्फ पोखरा महानगरपालिकाले १६ स्वर्ण, ८ रजत र ६ कांस्य जित्दै शीर्ष स्थान हासिल गर्यो । दोस्रो स्थानमा अन्नपूर्ण गाउँपालिका (२ स्वर्ण, ५ रजत, ४ कांस्य) रहँदा माछापुच्छ्रे गाउँपालिका तेस्रो, रुपा गाउँपालिका चौथो र मादी गाउँपालिका पाँचौँ स्थानमा रहे ।
ट्र्याक इभेन्टमा पोखराको दबदबा
प्रतियोगिताको १०० मिटर छात्रतर्फ सुदिप भण्डारी (पोखरा) स्वर्ण जिते भने १०० मिटर छात्रातर्फ अनुष्का अधिकारी (पोखरा)ले स्वर्ण पदक हात पारिन् ।
२०० मिटर छात्रमा प्रज्वल खड्का र छात्रामा अनुष्का अधिकारीले स्वर्ण जित्दै पोखराको प्रभुत्व देखाए।
४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटरका विभिन्न स्पर्धामा पनि पोखरा महानगरका खेलाडीहरूले अधिकांश स्वर्ण पदक आफ्नो नाममा लेखाएका छन् । विशेषगरी ३००० मिटर छात्रतर्फ रोजन बैदार श्रेष्ठ र छात्रातर्फ पुष्पा भण्डारी जैसी (माछापुच्छ्रे)ले स्वर्ण पदक जिते ।
फिल्ड इभेन्टमा प्रतिस्पर्धात्मक प्रदर्शन
शटपुट छात्रमा शंकर वाग्ले (पोखरा) र छात्रातर्फ जुनु बीके (अन्नपूर्ण)ले स्वर्ण जिते भने लङ जम्प, ट्रिपल जम्प र ज्याभलिन थ्रोमा पनि पोखरा, रुपा र अन्नपूर्णका खेलाडीहरूबीच कडा प्रतिस्पर्धा देखियो ।
उदीयमान खेलाडीहरूको उत्कृष्ट प्रस्तुति
सम्पन्न एथलेटिक्स प्रतियोगितामा कास्की जिल्लाका विभिन्न पालिकाबाट आएका उदीयमान खेलाडीहरूको प्रतिभा उजागर गरेको आयोजकको भनाइ छ । विद्यालय तहबाटै खेलाडी उत्पादन र विकासका लागि राष्ट्रपति रनिङ शिल्ड महत्वपूर्ण प्लेटफर्म बनेको सहभागी उनीहरूले बताएका छन् ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले सबै पालिकाहरुले खेलकुदका लागि आवश्यक बजेट विनियोजन गर्दै खेलकुद विकासका लागि आवश्यक ध्यान दिनु पर्ने कुरा औंल्याएका थिए । उनले राष्ट्रको गरिमा उच्च बनाउने खेलकुदको जग बलियो बनाउन सके अन्तर्राष्ट्रिय ऐरिनमा नेपालको शाख माथी उठ्ने उनको भनाई थियो ।
उद्घाटन कार्यक्रम जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङको अध्यक्षतामा भएको थियो ।
