छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता : चार विदेशीसहित १४ टिम भिड्ने

पोखरा स्पोर्ट्स । आसन्न छैटौं संस्करणको ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ मा ७ महिला तथा ७ पुरूष गरी कुल १४ टिम भिडने पक्का भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने सो प्रतियोगितामा महिलातर्फ दुई थाइल्याण्डका टिम तथा पुरुषतर्फ मालदिभ्सको राष्ट्रिय एवं भारत गुजरातको टिमसहित कुल चार विदेशी टिमहरुको सहभागिता हुने भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालले मंगलबार एक पत्रकार सम्मेलन गर्दै महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड, थाइल्याण्ड क्विन्स, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लब, टिपटप न्यू डामण्ड युथ स्पोर्टस क्लब, एभेरेष्ट भलिबल क्लब रुपन्देहीको सहभागिता हुने भएको जानकारी दिएको छ ।

त्यसै गरी पुरुषतर्फ मालदिभ्स भलिबल एशोसियसन क्लब, भारतको गुजरात राज्यको गुजरात भलिबल क्लबसहित गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लबको सहभागिता हुने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड ८० लाख खर्च हुने जनाउँदै अध्यक्ष शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण भलिबल प्रेमीहरुलाई सदा झैं सहयोगका लागि आह्वान गरेका छन् । उनले भने–“टाइगर कप भलिबल ब्राण्डको रुपमा स्थापित भएको छ । यो सबै यहाँहरुको सहयोगले नै भएको हो । हामी यो प्रतियोगिताबाट बचत भएको रकम विगतमा झैं शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको विकासका लागि खर्च गर्नेछौं । हामी समाजको हरेक क्षेत्रबाट आर्थिक, भौतिक एवं नैतिक सहयोगको अपेक्षा गर्दछौं ।”

‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ को संयोजकमा राजकुमार गुरूङ र सहसंयोजकमा डोलराज पोखरेल (डिआर) मनोनयन भएका छन् भने मुल आयोजक समितिको संयोजकमा अध्यक्ष शर्मा रहेका छन् । यसै गरी प्रतियोगितालाई भव्य एवं सभ्यरुपमा सम्पन्न गर्न १०७ मुल आयोजकसहित १४ विभिन्न उपसमिति गठन गरी जिम्मेवारी तोकिएको अध्यक्ष शर्माले जानकारी दिए ।

सम्पन्न पत्रकार सम्मेलनमा टाइगर ग्रुप अफ पोखरा नेपालले पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, मकाउ भलिबल संघका अध्यक्ष नरेश गुरूङ, नेपाल ह्याण्डबल संघका महासचिब केशव पाठक र टाइगर कप भलिबलका सहयोगी कोरिया निवासी खोम गुरूङलाई सम्मान गरेको छ ।

माघ ९ गतेबाट सुरू हुने प्रतियोगितालाई थप व्यवस्थित र मर्यादित बनाउन एवं दर्शकहरुको सहजताका लागि ३ हजार ५ सयको सिजनल टिकटको व्यवस्था गरिएको संस्थाका सचिब डिबी नेपालीले जानकारी दिएका छन् । प्रतियोगितालाई डिजिटल तथा प्रविधिमैत्री बनाउँदै अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरी योजना अघि बढेको सो अवसरमा जानकारी दिइएको छ ।

छैटौ संस्करणको च्याम्पियन हुने टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ हात पार्नेछन् । सो पुरस्कार राशी महिला तथा पुरूष दुबैतर्फ बिजेताले प्राप्त गर्नेछन् ।

यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close