
पोखरा स्पोर्ट्स । दक्षिण एसियाली फुटबल संघहरुको छाता संस्था (साफ)को आयोजनामा हुने ‘साफ यू १९ महिला फुटबल च्याम्पियनसिप’ को व्यवस्थापनको जिम्मेवारी गण्डकी प्रदेश फुटबल संघले पाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेश फुटबल संघलाई पठाएको पत्रमा सो उल्लेख गरिएको छ । साफ यू१९ महिला फुटबल च्याम्पियनसिप आगामी माघ १५ गते देखि सञ्चालन हुने भएको हो ।
एन्फाले गण्डकी प्रदेश फुटबल संघलाई पठाएको पत्र बारे जानकारी दिंदै गण्डकी प्रदेश फुटबल संघका महासचिब बिनोद गुरूङले चुनौतीहरुका बाबजुद यस क्षेत्रको फुटबल विकासका लागि आफूहरु तोकिएको जिम्मेवारी पुरा गर्ने गरी अघि बढेको बताए । “एन्फाले हामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । त्यो पुरा गर्न हामी अघि बढिसकेका छौं”, उनले भने ।
विशेष गरी पोखरा फुटबल स्टेडियममा निर्माण गरिएको ड्रेसिङ रुम प्राविधिक रुपमा गलत भएकोले एन्फाले सो सुधार गरी अन्तर्राष्ट्रियस्तर मापदण्डको ड्रेसिङ रुम, फर्निचर व्यवस्थापन, शौचालय, बाथरुम, ग्राउण्ड प्लेयर बक्स निर्माणका लागि सहजीकरण गर्न गण्डकी प्रदेश फुटबल संघलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।
महासचिब गुरूङले एन्फाले पत्र पठाएसँगै आफूहरुले सो निर्माण कार्य अघि बढाउन गण्डकी प्रदेश सरकारलगायत सरोकारवालाहरुलाई आग्रह गरिएको बताए । उनले भने–“साफ यू१९ का लागि हामीले भोलीबाटै कामको थालनी गर्दैछौं । गण्डकी प्रदेश सरकार सामाजिक विकास, यूवा खेलकुद मन्त्रालयसँग समेत कुराकानी अन्तिम चरणमा पुर्याएका छौं ।” उनले जिल्ला खेलकुद विकास समिति कास्की र कास्की जिल्ला फुटबल संघको सहकार्यमा व्यवस्थापनको कार्यमा जुटेको समेत जनाए ।
साफ यू१९ महिला च्याम्पियनसिपमा दैनिक चार खेल सञ्चालन हुने भएकोले पनि चारवटा ड्रेसिङ रुम आवश्यक पर्ने महासचिव गुरूङले जनाएका छन् । उनले भने–“अहिले सम्म चार देशको सहभागिता निश्चित भइसकेको हामीलाई एन्फाले भनेको छ । जसमा नेपालसहित, भारत, वंगालादेश, भुटान र मालदिभ्स रहेका छन् । अव पाकिस्तान र श्रीलंकाको टुङ्गो लाग्न बाँकी छ । उनीहरुले पनि कन्फर्मेशन पठाउँदैछन् भन्ने थाहा पाएको छु ।”
पोखरामा लामो समय देखि कुनै पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता नहुदा दर्शक निराश हुनुका साथै फुटबल विकासले समेत् गति समेत लिन नसकेको जनाउदै साफ यू१९ च्याम्पियनसिप सफल बनाउन महासचिब गुरूङले आग्रह गरेका छन् ।
नेपालकै ठूलो रंगशाला र दर्शक क्षमता समेत बढि रहेको पोखरा फुटबल रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि आयोजना हुने ठूलो प्रतियोगिता समेत हो । ७ वर्ष अघि १३औं सागमा समेत महिला फुटबल पोखरा फुटबल स्टेडियममा आयोजना भएको थियो ।
