प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथन: निमिषा र साम्देन च्याम्पियन

पोखरा स्पोर्ट्स । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र द स्केटल्याण्ड स्केटपार्क, गोकर्णको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक आयोजित राष्ट्रियस्तरको ओपन इनलाइन स्केट म्याराथन प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

नेपालमै पहिलो पटक आयोजना गरिएको म्याराथनमा महिला र पुरुष गरी करिब २०० जना स्वदेशी तथा विदेशी खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिताको महिला तर्फ निमिषा पाख्रिन प्रथम, मोनिका मगर द्वितीय र सिवानी रेग्मी तृतीय भइन् भने पुरुष तर्फ साम्देन ग्याल्बो शेर्पा प्रथम, अनिश गुरुङ द्वितीय र सफल थापा तृतीय भएका प्रमुख प्रशिक्षक दिलिपराज बरालले जानकारी दिए ।

कागेश्वरी मनहरा नगरपालिका–सुन्दरीजलबाट शुरू भई गोकर्णेश्वर नगरपालिकास्थित द स्केटल्याण्ड स्केटपार्क, तालिन्चोकसम्म करिब ५ किलोमिटर दूरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिजाल र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले संयुक्त रूपमा गरे ।

विजेतालाई प्रथम, द्वितीय र तृतीय स्थानका लागि क्रमशः नगद ५० हजार, ३० हजार र १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ, मेयर रिजाल र खनालले संयुक्त रूपमा गरे ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले स्केटिङ खेल नेपालमा तीव्र रूपमा विकास भइरहेको उल्लेख गर्दै भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा समेत पदक जित्ने विश्वास व्यक्त गरे ।

मेयर रिजालले यस्ता प्रतियोगितालाई भविष्यमा नगरपालिकाले आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाए । यस्तै संघका अध्यक्ष खनालले स्केट खेलको प्रतियोगितात्मक तथा व्यावसायिक विकासका लागि देशभर विस्तार गर्ने योजना सुनाए ।

प्रतियोगितामा नेपालभित्र तथा विदेशबाट समेत सयौं स्केटरहरूको उत्साहजनक सहभागिता रहेको आयोजक संघका महासचिव सत्य थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close