
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेटमा स्याङजा च्याम्पियन भएको छ ।
पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा घरेलु टोली कास्कीलाई.४५ रनले पराजित गर्दै च्याम्पियन भएको छ । च्याम्पियन भए संगै स्याङजले नगद १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने कास्कीले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यहि असार ७ गते सुरु भएको प्रतियोगितामा सहभागि चार टिम मध्ये स्याङजा अपराजित रहेको छ । सोमबार भएको फाइनलमा समेत टस जितेर पारीको सुरुवात गर्दै स्याङजाले पुरै २ण् ओभर खेल्दै ९ विकेटको क्षतीमा १०५ रन बनायो । स्याङजाका लागि कुशुम गोदारले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडिन भने सिमाना केसीले ३६ बलमा २ चौकाका साथ २४ रनको योगदान दिइन् । त्यस्तै ज्योत्सना मरासिनीले १४ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । स्याङजाले २० रन अतिरिक्त पाएको थियो ।
कास्कीका लागि शुसिला दिम्दुङ र पूर्णिमा गुरुङले समान २–२ विकेट हात पार्दा रचना चौधरी, चन्द्रमायाँ बराल र रिया तामाङले समान १–१ विकेट लिए ।
जितका लागि १०६ रन पछ्याउने क्रममा कास्की २० ओभरमा ९ विकेट गुमाउँदै ६० रन मात्रै जोड्न सक्यो । कास्कीले १५ रन अतिरिक्त दोहोरो रन आफ्नो पारीमा जोडे पनि खेलाडीहरुले दोहोरो अंक छुन भने सकेनन् । कास्कीका खेलाडीहरुले आफ्नो पारीमा ४५ रन मात्रै बनाए ।
बलिङतर्फ आकृती तिवारीले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर २ विकेट हात पार्दा, ओमन अफ दि म्याच रहेकी सिमाना केसीले ३ ओभरमा ५ रन दिएर २ विकेट लिन सफल हुँदा रन्जना साउदले २ ओभरमा ५ रन दिएर २ र कुशुम गोदारले १ विकेट लिन सफल भइन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा स्याङजाकी कुशुम गोदार प्लेयर अफ दि सिरिज र बेष्ट व्याटर बन्न सफल भएकी छन् । उनले प्रतियोगितामा ९७ रन बनाउँदा ३ विकेट समेत हात पार्दै कुल ८ अंक प्राप्त गरिन् । त्यस्तै कास्कीकी चन्द्रमायाँ बरालले प्रतियोगिता अवधिभर ७ विकेट लिंदै उत्कृष्ट बलर बन्न सफल भइन् । उनीहरुले नगदसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्री राजिव गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त प्रतियोगिता आसन्न दर्शौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट खेल समेत रहेको छ । समापन कार्यक्रम प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको थियो ।
