पोखरामा आइटिएफ टेनिस खेल्न विदेशबाट २ सय भन्दा वढी खेलाडी आउँदै

पोखरा स्पोर्टस । पोखरामा आयोजना हुने ‘आइटिएफ जे–५ सर्किट १ र २ यू–१८ वर्ल्ड रेङ्किङ टेनिस टुर प्रतियोगिता’ हुने भएको छ ।

उक्त प्रतियोगितामा सहभागी हुन विभिन्न देशका २ सय भन्दा वढी खेलाडी पोखरा आउने कास्की जिल्ला टेनिस संघले जनाएको छ । दुई वर्षको अन्तरालमा यहि मंगसिर १३ गते बाट शुरु हुन लागेको यो प्रतियोगिताका लागि यो समाचार तयार पार्दा सम्म २२ देशका खेलाडीहरुले आफ्नो नाम दर्ता गराईसकेको कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

विश्व महमारीका रुपमा कोभिड १९ पछि दक्षिण एशियामा आयोजना र सहभागिताका रुपमा ठूलो मानिएको यो प्रतियोगितामा महिला र पुरुष गरी २ सय भन्दा वढी खेलाडी सहित, खेलाडीहरुका प्रशिक्षक र फिजियोथेरापिष्टहरु तथा अभिभावकहरु समेत पोखरा आइपुग्ने अध्यक्ष गुरुङले बताए । उनले भने–“यो खेलकुदका दृष्टिकोणले मात्रै नभई पर्यटकिय दृष्टिकोणले समेत उत्तिकै महत्वपूर्ण छ ।” अध्यक्ष गुरुङका अनुसार धेरै जसो खेलाडीहरु एक साता अगावै क्ले कोर्टमा प्रशिक्षणका लागि पोखरा आइपुग्नेछन् ।

प्रतियोगिता अन्तगर्त पहिलो सर्किट अन्तर्गत नोभेम्वर २९ (मंगसिर १३ गते) देखि क्वालिफाइङ राउण्ड शुरु हुने संघका सचिव नविन श्रेष्ठले बताए । दिसेम्वर ४ सम्म्म पहिलो सर्किट अन्तर्गत सिंगल्स र डवल्स तर्फका खेलहरु सम्पन्न हुने छन् दोस्रो सर्किट त्यसको लगतै दुई दिन पछि दिसेम्वर ६ देखि ११ तारिख सम्म हुनेछ । दोश्रो सर्किट अन्तर्गत समेत सिंगल्स र डवल्सका खेलहरु हुने सचिव श्रेष्ठले बताए । सचिव श्रेष्ठका अनुसार प्रतियोगिता १७ दिन सम्म सञ्चालन हुनेछ ।

पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगिताको तयारी समेत शुरु गरिसकिएको अध्यक्ष गुरुङले जनाएका छन् । “हामीले यो प्रतियोगिताका लागि तयारी शुरु गरिसकेका छौं खर्च ठूलो छ हामीले संघिय र प्रदेश सरकार सँग सहयोगको अपेक्षा गरेका छौं” उनले भने । अध्यक्ष गुरुङका अनुसार रसियन यू–१८ का नं १ रेङ्किङ खेलाडी समेत प्रतियोगिताका लागि पोखरा आउने छन् । त्यसै गरी भारत, इन्डोनेशिया, हङ्गेरी, अमेरिका, स्विडेन, क्यानाडा, टर्की, डेनमार्क, अष्ट्रेलिया, इटाली, जर्मनी, पोर्चुगल, इजिप्ट, फिनल्याण्ड, पोल्याण्ड, वेल्जियमका खेलाडीले नाम दर्ता गराइसकेको र अन्य देशका खेलाडीहरुले समेत नेपाल आउन उत्सुक रहेको अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा नेपालबाट महिला र पुरुष गरी १२ जना खेलाडीको सहभागिता रहनेछ ।

पोखरा रंगशालाका ७ वटा क्ले कोर्टमा आयोजना हुने यो प्रतियोगिताले यूवा खेलाडी उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले बताए । “यो नेपाली अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादनका लागि समेत ढोका हो, आफ्नै देशमा विभिन्न देशका खेलाडी संग खेल्दा उनीहरुको रेङ्किङमा समेत राम्रो सुधार आउने छ,” उनले भने । पोखरामा आयोजना हुने यो प्रतियोगिता सफल बनाउन सवै पक्षसँग आग्रह गर्दै टेनिसले विश्वमा पोखरा लाई चिनाउन अहम भूमिका खेलेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close