
पोखरा स्पोर्टस । पर्वतिय खेलकुद महासंघ गण्डकीको भेला पोखरामा मंगलबार सम्पन्न भएको छ ।
महासंघले गण्डकी खेलकुद परिषद संग परम्परागत, सहासिक र पर्यटकिय खेलकुदका लागि आवश्यक नितिगत, कार्यक्रमिक र व्यवस्थापकिय सहयोगका लागि उक्त भेलाको आयोजना भएको हो । विगत एक दशक देखि नेचर, एडभेन्चर र कल्चर प्रमुख उद्धेश्यका साथ स्थापित महासंघले दिगो खेलकुदमार्फत दिगो पर्यटन प्रवर्द्धनका लागि क्रियाशिल रहेको छ ।
गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पर्वतिय खेलकुद महासंघका केन्द्रिय अध्यक्ष गोविन्द भट्टराईले समेत आफ्ना भनाई राख्दै गण्डकी प्रदेशलाई सहासिक खेलकुदको लागि प्रमुख गन्तव्य रहेकोले नितिगत रुपमानै अघि बढाउन प्रदेश सरकारको ध्यान त्यसतर्फ जानुपर्ने आवश्यक्ता रहेको बताए ।
भेलामा महासंघ र सदस्य संघको प्रदेश समिती निर्माण, संघ र महासंघको साधारण सभा तथा निर्वाचन प्रक्रिया, प्रतिनिधित्व, सहासिक खेलकुदको विकासका लागि प्रदेश खेलकुदको अध्ययन प्रतिवेदन संगै प्रदेशमा कृयाशिल संघ र इभेन्टहरुको अवस्थाका बारेमा समेत विशेष छलफल गरिएको थियो ।
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराई, गल्फ कास्कीका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ, रक क्लाइम्विङकी लक्की क्षेत्री, मोटर स्पोर्टसका शिव श्रेष्ठले आ–आफ्ना सुझावहरु प्रस्तुत गरेका थिए । त्यसै गरी महानजङ्ग पाण्डे, रमेश कार्की, जगन विक, अग्रज फोटो पत्रकार सुनिल उलकले समेत आफ्ना सुझाव प्रस्तुत गर्दै परम्परागत खेलकुद र पर्वतिय खेलकुदलाई अझै व्यवस्थित बनाउन जोड दिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यद्वय बसन्त दवाडी र खगेन्द्र क्षेत्रीको समेत सहभागिता रहेको थियो ।
