ऐतिहासिक लामाचौर कप महिला राष्ट्रिय भलिबल स्थगित, खुल्ला पुरुष र छात्रा प्रतियोगिता हुने

पोखरा स्पोर्ट्स । नेपाली महिलाहरूको महान पर्व तिजको अवसरमा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको ऐतिहासिक लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता यो वर्ष स्थगित भएको छ । आयोजक नव आदर्श सामुदायिक विकास केन्द्रले आर्थिक अभाव र टिमको न्यून सहभागिताका कारण राष्ट्रिय महिला प्रतियोगिता स्थगन गर्ने निर्णय गरेको हो ।

केन्द्रका अध्यक्ष ई. दिनेश भण्डारीका अनुसार यस वर्ष १२औं संस्करण आयोजना गरिनुपर्ने भए पनि आवश्यक आर्थिक स्रोत जुट्न नसकेपछि प्रतियोगिता रोक्नुपरेको जनाए । ‘हामीले विगतमा राष्ट्रिय खेलकुद परिषद्, प्रदेश सरकार लगायतका निकायहरूबाट सहयोग पाउँदै आएका थियौं,’ अध्यक्ष भण्डारीले पोखरा स्पोर्ट्ससँगको कुराकानीमा भने, ‘तर अहिले ती सबै सहयोग बन्द भएका छन् । गम्भीर कुरा त के हो भने, प्रदेश सरकार र खेलकुद परिषद्ले हाम्रो प्रतियोगितालाई प्रतियोगिताकै रूपमा नलिएपछि समस्या थपियो।’

पोखरामा तीजको अवसरमा हरेक वर्ष विशेष आकर्षणका रूपमा आयोजना हुँदै आएको महिला राष्ट्रिय भलिबल स्थगित हुँदा धेरैले चिन्ता व्यक्त गरेका छन् । नेपाल भलिबल संघका पूर्व महासचिव डिबी नेपालीले पोखरा स्पोर्ट्ससँग प्रतिक्रिया दिँदै भने, ‘११ पटकसम्म सफलतापूर्वक सम्पन्न भएको प्रतियोगिता यो वर्ष रोकिनु दुर्भाग्यपूर्ण हो । यो गण्डकी प्रदेशकै लागि पनि नकारात्मक सन्देश हो ।’

अध्यक्ष भण्डारीका अनुसार प्रतियोगितामा कम्तिमा ६–७ टिम सहभागि हुनुपर्ने भए पनि पछिल्लो वर्षहरूमा ४ टिमभन्दा बढी जुट्न सकेका छैनन् । ‘टिमको सहभागिता घट्नु र आर्थिक अभाव दुबै कारणले गर्दा महिला राष्ट्रिय प्रतियोगिता रोक्नुपर्‍यो,’ उनले भने, ‘तर ऐतिहासिक तीज पर्वमा खेल गतिविधिलाई निरन्तरता दिने उद्देश्यले खुल्ला पुरुष तथा अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिता भने गर्ने निर्णय गरेका छौं।’

यसै क्रममा यस वर्ष हुने भनिएको चौथो संस्करणको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पनि स्थगित गरिएको छ । त्यसको सट्टामा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिनेछ ।

संस्थाको २९औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिने खुल्ला पुरुष भलिबल प्रतियोगितामा विजेता टिमले नगद रु ३ लाख, उपविजेताले नगद रु १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख र उपविजेताले रु ५० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अध्यक्ष भण्डारीका अनुसार छात्रा प्रतियोगिता खेलाडी उत्पादनका दृष्टिले महत्वपूर्ण भएकाले त्यसलाई निरन्तरता दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close