टाइगर कप भलिबल : पहिलो दिन तीन खेल, खराब प्रकाशका कारण रोकियो उद्घाटन खेल

प्रदेश सरकार खेलकुद बिकासका लागि प्रतिवद्ध–मुख्यमन्त्री पाण्डे, गण्डकी प्रदेश सरकार

पोखरा स्पोर्टस । ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो दिन तनी खेलहरु भएका छन् भने उद्घाटन खेल भने खराब प्रकाशका कारण रोकिएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ विभागिय टिम शसस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्ड क्लबले जित दर्ता गर्दा पुरुषतर्फ शसस्त्र प्रहरीको एपिएफ क्लब बिजयी सुरुवात गरेको हो । पहिलो दिन केही समय ढिला सुरु भएको गण्डकी प्रदेश भलिबल संघ र त्रिभुबन आर्मी क्लब बिचको खेल भने खराब प्रकाशका कारण बिचमा नै रोकिन पुगेको छ । उद्घाटन खेला जारी रहँदा गण्डकी प्रदेश २–१ ले अगाडी थियो । तर टेक्निकल टिम अन्तिम समयमा खेल रोक्न बाध्य भयो । रोकिएको खेल माघ ३ गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो दिन तेश्रो संस्करणको उपाधि बिजेता समेत रहेको नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को जित निकालेको छ । चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ ।

पहिलो सेट २५–१८ र दोश्रो सेट २५–१८ ले जितेको एपिएफले भने तेश्रो र चौथो सेट भने गुमाउन पुग्यो । तेश्रो र चौथो सेटमा टिम कम्विनेसनको अभाव देखिएको एपिएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको नेपाल पुलिस अन्तिम तथा पाँचौ सेटमा १५–१३ ले एपिएफलाई सुम्पिन पुग्यो ।

उक्त खेलमा एपिएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भइन् ।

यसै गरी महिलातर्फको दोश्रो खेल चन्द्रागिरी न्यूडायमण्ड क्लबले जितेको छ । नेपाल आर्मीको खेलमा न्यू डायमण्ड ३–१ को सेटमा जित निकाल्दै प्रतियोगितामा २ अंक प्राप्त गरेको छ भने आर्मीले १ अंक पाएको छ । पहिलो सेट २५–२० र दोश्रो सेट २५–१७ ले लगातार जित्दै न्यू डायमण्डले आर्मी विरुद्ध दबाब प्रस्तुत गरे पनि तेश्रो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो । तर चौथो सेटमा आर्मीलाई दबाबमा राख्दै न्यू डायमण्डले २५–१५ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । उक्त खेलमा न्यूडायमण्डकी रिमा कुँवर टाइगर अफ दि  म्याच बन्न सफल भइन् ।

त्यस्तै पुरुषतर्फको खेलमा एपिएफ क्लवले नेपाल पुलिस क्लव विरुद्ध ३–० को सोझो सेटमा जित निकालेको छ । पहिलो सेट २५–१९ ले सहज जित निकाले पनि दोश्रो सेट निकै प्रतिस्पर्धात्मक बन्न पुग्यो । दोश्रो एपिएफले ३३–३१ ले हात पार्न सफल भयो अन्तिम सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक हात पारेको छ । उक्त खेलमा एपिएफका बिजय थापा टाइगर अफ दि  म्याच घोषित भए ।

यस अघि चौथो टाइगर कप भलिबल प्रतियोगिताको एक भब्य कार्यक्रमका बिच उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध भएको जनाएका छन् । उनले प्रदेश सरकारले खेलाडी हित र खेलकुद विकासका लागि केही नयाँ योजनाका साथ अघि बढेको बताउँदै प्रदेश सरकार गण्डकीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, कभर्ड हल समेत निर्माण गर्ने योजनामा रहेको बताए ।

खेलकुदलाई पर्यटन संग जोडन अपरिहार्य रहेको जनाउँदै मुख्यमन्त्री पाण्डेले हाइअल्टिच्यूड खेल मैदानको निर्माण जस्ता योजनाहरु समेत प्रदेश सरकारले अघि बढाएको जनाउँदै बालबालिका बाटै खेलाडीहरुको उत्पादन हुनेकुरालाई आत्मसात गर्दै यू–१५ खेलकुद प्रतियोगिता, ओलम्पियनहरुको सम्मानका लागि मासिक भत्ता, खेलकुद पदक जस्ता कार्यक्रमहरुमा प्रदेश सरकारले बजेट समेत बिनियोजन गरी अघि बढेको उल्लेख गरे । उनले राष्ट्रिय खेल भलिबलको विकासमा टाइगर ग्रुप अफ पोखराले महत्वपूर्ण कार्य गरेको जनाउँदै प्रशंसा समेत गरे ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले अग्रज समाजिक व्यक्तित्व कर्णेल जेपी क्रसलाई सम्मान गरेका छन् । हालै १ सय वर्ष टेकेका उनी शिक्षा, खेलकुद तथा सामजिक क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याएको बताउँदै टाइगर ग्रुप अफ पोखरा नेपालले उनलाई सम्मान गरेको हो ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बरालले भलिबल खेल बिकासका लागि इन्डोर कभर्डहल आवश्यक रहेको विषयमा जोड दिएका थिए ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका सचिव डिबी नेपालीले समेत आफ्ना भनाई राखेका थिए ।

नेपाल भलिबल संघको स्विकृतीमा सुरु भएको चौथो टाइगर कपमा प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाना टिम भारत रहेका छन् । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिव १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भोलीको खेल महिलातर्फ पहिलो खेलमा गण्डकीले नेपाल पुलिसको सामना गर्नेछ भने दोश्रो खेल महिलातर्फ त्रिभुवन आर्मी क्लव र हरियाणा टिम भारतका बिच हुनेछ । त्यस्तै पुरुषतर्फको श्रीलंका आर्मी टिम र एपिएफ क्लव तथा दोश्रो खेल त्रिभुवन आर्मी र हेल्प नेपाल क्लवका बिच हुनेछ ।

प्रतियोगितामा टिकट काटेर हेर्ने दर्शकहरुलाई दैनिक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ भने फाइनल खेलमा बम्पर उपहारस्वरुप सामसुङको मोबाइल प्रदान गरिने सचिब नेपालीले जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड १५ लाख भन्दा बढि खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close