
पोखरा स्पोर्ट्स । नेपाल एथलेटिक्स संघको चुनावी साधारण सभाले राजीवविक्रम शाहलाई बुधबार अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका शाहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको हो ।
उपाध्यक्षमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ रहेका छन् । आरके विष्ट (राधाकृष्ण) सचिव तथा मोहनबहादुर घले कोषाध्यक्षमा चुनिए ।
कार्यसमिति सदस्यमा सन्जिव तुलाधर, अन्जु चौधरी, दिलबहादुर बम, नन्दु काउछा, अनिरुद्रकुमार चौधरी, मोहम्मद ज्याउल हक, शिवलाल आचार्य र पद्मा चौधरी सदस्यमा चयन भएका छन् ।
सदस्यमा निर्वाचित तुलाधरलाई नवनिर्वाचित अध्यक्ष शाहले पछि कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने गरी महासचिवमा मनोनित गरेको घोषणा गरे ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । त्यसअघि साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।
