‘ओलम्पिक डे’को अवसरमा मञ्चद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पोखरा स्पोर्टस । जुन २३ ओलम्पिक डेको अवसरमा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित बक्तृत्वकला प्रतियोगिता पोखरामा सम्पन्न भएको छ ।  हरेक वर्ष विविध कार्यक्रमका साथ मञ्चले यो वर्ष माविस्तरीय (कक्षा १० सम्म) बक्तृत्वकला प्रतियोगिता आयोजना गरी मनाइएको अध्यक्ष दिल बहादुर गुरूङले जनाएका छन् ।

१९ विभिन्न विद्यालयका विद्यार्थी सहभागिता जनाएको सो प्रतियोगितामा सृजना बोर्डिङकी सुस्मिता शर्मा पहिलो भएकी छन् । ‘पोखरा म्याराथन र विद्यार्थीहरुको भूमिका’ विषयक बक्तृत्वकलामा गण्डकी बोर्डिङकी छात्रा डेनिस्का भट्टराई दोस्रो, अल्फा एकेडेमीकी प्रशंसा शर्मा तेस्रो हुँदा मदर ल्याण्डका प्रवेश थापा चौथो तथा ज्ञानज्योती विद्याकुञ्जकी जेसिका गुरूङले पाँचौ स्थान हात पारेकी छन् ।

सो प्रतियोगितामा पहिलो हुनेले नगद रु १० हजार, द्वितीयलाई नगद रु ७ हजार, तृतियलाई नगद रु ५ हजार तथा चौथो र पाँचौलाई जनही नगद रु ३–३ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे त्यस्तै छैटौ देखि दशौं स्थान सम्म प्राप्त गर्नेहरुलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । साथै उनीहरुलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबाट उपलव्ध प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रतियोगितामा विजेताहरुलाई गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारी, मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङ, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, कार्यक्रम संयोजक श्रीकृष्ण अधिकारीलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

पोखरा उद्योग बाणिज्य संघमा आयोजित सो कार्यक्रमको गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.तिवारीले गरे । सो अवसरमा बोल्दै कुलपति तिवारीले ओलम्पिक दिवसले विश्वमा भाइचारा र शान्तीको सन्देश प्रवाह गर्न भूमिका खेलेको बताउँदै खेलकुद राष्ट्रको समृद्धिका लागि समेत उत्तिकै महत्वपूर्ण हुने जनाए । गण्डकी विश्वविद्यालयले खेलकुदमा सक्षम जनशक्ति उत्पादनकै लागि खेलकुद विषयलाई समेत अघि बढाएको बताउँदै त्यसबाट खेलकुद क्षेत्र लाभान्वित हुनेमा आफू विश्वस्त हुने बताए ।

सो बक्तृत्वकला प्रतियोगितामा सञ्चारकर्मीद्वय दिपेन्द्र श्रेष्ठ र सञ्जय मल्ल, पिएन क्याम्पसका उपप्रध्यापक द्वय डा विष्णु प्रसाद शर्मा र बोधराज ढकाल निर्णायकको भूमिकामा रहेका थिए भने प्रतियोगिता सम्पन्न गर्न श्रीकृष्ण अधिकारीको संयोजकत्वमा अर्जुन अधिकारी, रमेशराज अर्याल, खिम गुरूङ, डिल्लीराम अर्याल, झलकनाथ आचार्य र कुशल लामिछाने रहेको समिति गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close