पोखराका टेनिस खेलाडी स्व.नगरकोटीको परिवारलाई १२ लाख ८० हजार नगद सहयोग

पोखरा स्पोर्टस । पोखराका टेनिस खेलाडी स्व. सुरज नगरकोटीको परिवारलाई कास्की जिल्ला टेनिस संघले आर्थिक सहयोग गरेको छ ।

संघले शुक्रबार पोखरामा एक श्रद्धाञ्जली कार्यक्रम समेत आयोजना गरि स्व. नगरकोटीको परिवारलाई १२ लाख ८० हजार नगद सहयोग गरेको हो । नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष एवम कास्की जिल्ला टेनिस संघका निवर्तमान अध्यक्ष बिनोद कायस्थले उक्त रकम स्व. नगरकोटीकी श्रीमती बबिता नगरकोटीलाई हस्तान्तरण गर्नुभएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै उपाध्यक्ष कायस्थले स्व. नगरकोटीको छोरीलाई निशुल्क अध्ययन अध्यापन गर्न संघले सहयोग गर्ने बताउँदै परिवारलाई समेत आवश्यक पर्दा सहयोग गर्ने बताउनुभयो ।

संघका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लोक बहादुर गुरुङ, संघका सचिव नविन चालिसेले गौरव गर्न लायक तथा परिश्रमी युवा खेलाडी गुमाउन पुग्दा टेनिस खेलका लागि समेत ठूलो घाटा पुगेको बताउनुभयो ।

संघले प्रदान गर्ने उक्त रकम मध्ये ८ लाख रुपैयाँ स्व नगरकोटीकी छोरी शाकुरा नगरकोटीको अध्ययन लगाएत अन्य खर्चका लागि उनको नाममा बैंकको मुद्धती खातामा राख्ने संघका कोषाध्यक्ष राजु गुरुङले बताउनुभयो । यस सँगै प्रदान गरिएको रकम मध्ये १ लाख ५० हजार स्व. नगरकोटीकी श्रीमती र १ लाख ५० हजार वुवा आमाका लागि तथा अन्य रकम कृया खर्चका लागि प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“अझै रकम उठ्दैछ, हामीले उठेको रकम सबै छोरीको मुद्धती खातामा जम्मा गर्ने छौं ।”

धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ५ सल्यानकोट घर भएका स्व नगरकोटीले विगत ५ वर्ष देखि पोखरामा रहेर टेनिस खेलाडी तथा युवा प्रशिक्षकका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको गत असोज २६ गते फेवातालमा नुहाउने क्रममा डुवेर निधन भएको थियो । उनको श्रीमती, २ वर्षकी एक छोरी समेत रहेकी छन ।

 टेनिसमा नगरकोटीलाई  सम्झिएर सवै भावविह्वल
पोखरा रंगशालामा स्व.नगरकोटीको श्रद्धाञ्जली तथा रकम हस्तान्तरण कार्यक्रममा उपस्थित भएका सवै भाव विह्वल बने । सँधै खेलको माहोल बन्ने टेनिसमा पहिलो पटक यस्तो देखिएको हो । खेलाडी, प्रशिक्षक, संघका पदाधिकारी तथा सदस्यहरु, प्रशिक्षक, सल्लहाकारहरु उपस्थित कार्यक्रममा सवैको नगरकोटीलाई सम्झिएर आँखा बाट आँसु झारे । “उनी सवैका प्रिय थिए, टेनिसलाई राम्रो संग वुझेको मात्र नभई सम्भावना बोकेका खेलाडी थिए” संघका सचिब चासिलेले भन्नुभयो–“पहिलो पटक यस्तो भयो, हामी उपस्थित सवै भावविह्वल बन्यौ ।” सँधै टेनिसमा उपस्थित हुने सवैले अन्य कार्यक्रममा मोवाइलबाट फोटो खिच्न हतार गर्ने कसैले पनि मोवाइल गोजीबाट नझिकेको उहाँले बताउनुभयो । उनी पोखरामा रहेर विगत ५ वर्ष देखि टेनिस सिक्दै र सिकाउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close