
पोखरा स्पोर्टस/तस्विरः विवेक लोप्चन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार सार्वजनिक गरेका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा मानवअधिकार चोकमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ट्रफी सार्वजनिक गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री पोखरेलले ३९ वर्ष पछि आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्न पाउनु गौरवको कुरा रहेको बताए । “राष्ट्रिय पर्वका सन्दर्भमा ट्रफी सार्वजनिक गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो । यो अभियानलाई सफल बनाउन लागी पर्ने सबैमा म आभार व्यक्त गर्दछु”, मुख्य मन्त्री पोखरेलले भने ।
मुख्य मन्त्री पोखरेलले सार्वजनिक गरिएको ट्रफीलाई नवौंमा जित हासिल गर्दै गण्डकी प्रदेशमा नै राख्नु पर्ने बताउँदै भने–“३९ वर्ष पछि पोखरामा नवौं राष्ट्रिय खेलकुद हुँदैछ । नवौंमा सहभागी सबै खेलाडी र टिमले पदक जितेर ट्रफी उचाल्ने स्वार्थ र हक छ । तर यसमा गण्डकीको पनि स्वार्थ रहेकोले ट्रफी गण्डकीमा नै राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न म खेलाडीहरुलाई आग्रह गर्दछु । उहाँहरुले उत्कृष्ट प्रदर्शन गरेर गण्डकीमा राखिदिनु भयो भने यो हामी सबैका लागि सम्मान हुनेछ ।”
अहिलेको आधुनिक खेल विकास, समृद्धि, स्वास्थ्य र पर्यटन संगै कुटनिती संग समेत जोडिएकोले खेलकु्दको महत्व बढ्दै गएको मुख्य मन्त्री पोखरेलको भनाई थियो ।
यसै गरी कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ३९ वर्ष पछि गण्डकीमा आयोजना हुनु सबैका लागि गौरवको विषय भएको बताउँदै यसको भव्य सफलताका लागि गण्डकी प्रदेशवाशीको सहयोगको अपेक्षा रहेको बताए ।
सो अवसरमा ट्रफी सार्वजनिक कार्यक्रमका संयोजक एवं ओलम्पियन दिपक विष्ट, साग पदकधारी एवं कराँतेका प्रशिक्षक दिपक श्रेष्ठ, महिला भलिबलकी राष्ट्रिय टिम कप्तान अरुणा शाही र विश्व अल्ट्रा धाविका मिरा राई समेत कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।
मुख्यमन्त्री पोखरेलले ट्रफी सार्वजनिक गरे संगै पोखरा नगरको विभिन्न भाग परिक्रममा पश्चात पोखरा लेकसाइडस्थित तालबाराही चोकमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले समापन गरेका थिए । कार्यक्रममा पोखरा महानगर पालिकाका उपप्रमुख मञ्जु देवी गुरुङ, वडाध्यक्षहरु, पोखरा महानगरका कर्मचारीहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।
