यु–१४ राष्ट्रिय विद्यालय खेलकुद : एथलेटिक्समा लुम्बिनी च्याम्पियन

पोखरा स्पोर्टस । लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा सोमबार च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक ४ स्वर्ण जित्दै च्याम्पियन बन्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश २ स्वर्ण र ५ रजतसाथ दोश्रो भयो । गण्डकी प्रदेश र मधेश प्रदेश समान २ स्वर्ण, १ रजत र १ कांस्यसाथ संयुक्त रुपमा तेश्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान १–१ स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोश्रो तथा अन्तिम दिन छात्र/छात्रामा समान ३–३ गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

छात्र २ सय मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए । उनले निर्धारित दूरी २४.९ सेकेन्डमा पूरा गरे । मधेशका आयुश चौधरी दोश्रो तथा कोशीका नितेश भट्टराई तेश्रो भए । सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन् । अनुजाले निर्धारित दूरी तय गर्न ३१.४ सेकेन्ड समय खर्चिन् । कोशीकी अस्मिता लाम्गाडे दोश्रो तथा मधेशकी वर्षा योञ्जन तेश्रो बने ।

प्रतियोगिताको छात्र ८ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते । उनले २ मिनेट ०७.४ सेकेन्ड समय निकाले । कर्णालीका विवेक बोगटीले रजत तथा कोशी नितेश भट्टराईले कांस्य हात पारे । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी २ मिनेट ४७.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । कोशीकी जुही राई दोश्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेश्रो भए ।

छात्र ४ गुणा १ सय मिटर रिलेमा मधेश पहिलो, कोशी दोश्रो र गण्डकी तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

बास्केटबल : कोशी र बागमतीलाई उपाधि
यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको उपाधि कोशी र बागमतीले जितेका छन् । कोशी छात्र तथा बागमती छात्रामा च्याम्पियन बने ।

त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७–१२ ले पराजित गरेको छ । लुम्बिनी तेश्रो भयो । छात्राको उपाधि भिडन्तमा बागमतीले कर्णालीलाई १५–३ ले हरायो । कोशीले तेश्रो स्थानमा चित्त बुझायो ।

टेबलटेनिसमा बागमतीको क्लिन स्विप
यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत टेबलटेनिसको स्वर्ण बागमतीले सोमबार क्लिन स्विप गरेको छ । ४ स्पर्धा रहेको टेबलटेनिसमा सबै स्वर्णमा बागमतीले कब्जा गर्‍यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सिंगल्सको छात्रमा आर्यन शाही र छात्रामा अर्सना महर्जन पहिलो भए ।

फाइनलमा आर्यनले बागमतीकै अर्नव श्रेष्ठलाई ११–६, ११–७, ७–११ र १४–१२ तथा अर्सनाले बागमतीकै साइरा शाक्यलाई ११–६, ११–९ र ११–९ को सेटमा पराजित गरे । छात्रमा गण्डकीका सुगम पौडेल र कोशीका गौतम तामाङ तेश्रो भए । छात्रामा लुम्बिनीकी सोनम गुरुङ र बागमतीकी प्राज्ना महर्जन तेश्रो बने ।

छात्र डबल्समा बागमतीका आर्यन शाही र अर्नव श्रेष्ठको जोडी पहिलो भए । आर्यन र अर्नवको जोडीले फाइनलमा कोशीका गौतम तामाङ र सक्षम बस्नेतको जोडीलाई ११–९, ११–७ र ११–६ को सोझो सेटमा पाखा लगाए । गण्डकीका सुगम पौडेल र दीपनिशान शाही तथा लुम्बिनीका सुविन क्षेत्री र सुविन थापाको जोडी तेश्रो भए ।

उक्त स्पर्धाको छात्रामा बागमतीका अर्सना महर्जन र साइरा शाक्यको जोडीले फाइनलमा कोशीका स्वस्तिका चौधरी र श्रेया सुवेदीको जोडीलाई ११–१ र ११–४ र ११–२ को सोझो सेटमा पन्छाए ।

लुम्बिनीका सोनम गुरुङ र अयाना शाह तथा गण्डकीका श्रृष्टि खड्का र ब्रिसना बस्नेतको जोडीले कांस्य हात पारे । विजेतालाई राखेपका कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close