
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिलातर्फ क्रिकेटमा नेपाल पुलिस क्लवले स्वर्ण पदक जितेको छ । मंगलबार पोखरा रंगशालामा भएको फाइन खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई ५ रनले पराजित गर्दै पुलिसले पहिलो सहभागितामै स्वर्ण जितेको हो ।

पहिला व्याटिङ गरेको पुलिसले पुरै २० ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । जितका लागि ९० रन पछ्याएको एपीएफले २० ओभरमा ७ विकेटको क्षतिमा ८४ रन मात्रै बनाउन सक्यो । पुलिसको व्याटिङमा काजल श्रेष्ठले ५५ बलमा १ चौका प्रहार गर्दै २७ रन जोडिन् । त्यस्तै सम्झना खड्काले २५ बलमा १ चौका प्रहार गर्दै २१ रन बनाइन् । कविता जोशिले १० बलमा १ छक्का प्रहार गर्दै १३ रन जोडिन् । एपीएफका बलरहरु नेरी थापा, इन्दु बर्मा, सिता राना मगरले समान १–१ विकेट लिए ।
एपीएफका लागि रोमा थापाले १९ बलमा २ चौका प्रहार गर्दै २६ रन बनाइन् । राजमति ऐरीले १२ बलमा १ चौका हान्दै १२ रन जोडिन् । पुलिसका बलरहरु इश्वरी विष्टले २, रुविना क्षेत्री, संगिता राई, हिरनमाई रोयले समान १–१ विकेट लिए । खेलमा नेपाल पुलिस क्लवका इश्वरी विष्ट प्लेयर अफ द म्याच भइन भने प्रतियोगिता अवधिभर ११ विकेट ३२ रन बनाएकी एपीएफका नेरी थापा सर्वोत्कृष्ट खेलाडी भइन् ।
बागमतीलाई कास्य
यसअघि तेश्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै कास्य पदक हात पारेको थियो । जितको लागि ८८ रनको लक्ष्य पछ्याएको बागमतीले १६.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
बागमतीको लागि सुमन खतिवडाले विस्फोटक व्याटिङ गर्दै २१ बलमा ६ चौका र १ छक्कासहित ४१ रनको इनिङ खेलिन् । ओपनर अस्मिता खरेल ३२ बलमा २ चौका प्रहार गर्दै २० रनमा आउट भइन् । कन्चन श्रेष्ठले २० बलमा १० जोडिन् ।
लुम्बिनीको बलिङमा कृतिका मरासिनीले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । सुस्मिता भुषालले एक विकेट लिइन् टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । लुम्बिनीको लागि कप्तान सरस्वती घर्तीमगरले ३६ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनाइन् ।
बागमतीको बलिङमा प्लेयर अफ द म्याच विपिशा शाहीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिइन् । सोनी पाख्रिनले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । स्पिनर खुशी डंगोलले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिइन् ।
