
पोखरा स्पोर्टस । पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको ५ किलोमिटर सडक दौडमा छात्र तर्फ इन्द्र राज्य लक्ष्मी मा.वि.का सम्राट चौधरी प्रथम भएका छन् ।

पोखरा यूनाईटेड एकेडेमीको चार दिने अन्तर बिद्यालय एस.ई.ई.खेलकुद प्रतियोगिता २०८१ अन्र्तगत पहिलो दिन शनिबार भएको ५ किलोमिटर सडक दौडमा चौधरीले निर्धारित दुरी २० मिनेट २ सेकेण्डमा पार गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । त्यसै गरी कास्की मोडनाइज एकेडेमीका प्रमोद थापा दोश्रो भए । थापाले भने २० मिनेट २४ सेकेण्डमा उक्त दुरी पार गरे ।
त्यसै गरी छात्रा तर्फको ५ किलोमिटर सडक दौडमा लमजुङको मध्य नेपाल नगरपालिका स्थित पश्चिम भुमि मा.वि.की कुस्मिता भुजेल प्रथम भइन् । उनले निर्धारित दुरी २८ मिनेट २६ सेकेण्डमा पार गरिन् ।
आयोजक पोखरा यूनाइटेड एकेडेमीकी अम्बिका पोख्रेलले निर्धारित दुरी ३८ मिनेटमा पार गर्दै दोश्रो भइन् । बिद्यालय परिसर भद्रकाली मार्गबाट सुरु भएको उक्त दौड संगमटोल गौडाकोमुख, बिजि हस्पिटल हुँदै रानीपौवा, पोखरा नर्सिङ चोक हुदै कुडहर लाली गुराँस हुँदै बिद्यालयमा आएर टुंगिएको बिद्यालयका शिक्षक फणिन्द्रराज पौडेलले बताए ।
प्रतियोगितामा विजेता छात्र तथा छात्रालाई जनही ५–५ हजार, दोश्रो हुनेलाई जनही ३–३ हजारको साथमा मेडल र प्रमाण पत्र वितरण गरिएको बिद्यालयका सह प्रध्यानाध्यापक देवेन्द्र अधिकारीले बताए ।
उक्त प्रतियोगिताको शनिबार एक समारोहका बिच एथलेटिक्स संघ गण्डकीका अध्यक्ष एवं पूर्व खेलाडी हरि बरूवालले उद्घाटन गर्दै बिद्यालयमा शिक्षासंगै खेलकुद अनिवार्य भएको बताए ।
बिद्यालयले शिक्षासंगै खेलकुदको समेत विकास गराउने उद्धेश्यले विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको बिद्यालयका प्रिन्सिपल बयान बहादुर गोदारले जनाएका छन् । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिव बहादुर भण्डारीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । उक्त प्रतियोगिता यही जेठ २९ गतेसम्म संचालन हुने भएको छ ।
