
पोखरा स्पोर्टस । पोखरामा मंगलबार सम्पन्न यू–१६ छात्र ह्याण्डबल प्रतियोगितामा पोखरा एकेडेमी च्याम्पियन भएको छ । कास्की जिल्ला ह्याण्डबल संघको आयोजना तथा राष्ट्रिय ह्याण्डबल खेलाडी विशाल नेपालीको संयोजनमा सम्पन्न प्रतियोगितामा अल्फा माविलाई प्रतिस्पर्धात्मक फाइनल खेलमा पराजित गरी च्याम्पियन बनेको हो ।

फाइनल खेलमा बिजेता बनेको पोखरा एकेडेमीले १४ तथा उपविजेता अल्फाले १३ गोल गरेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी निशान गुरुङ, उत्कृष्ट गोलरक्षक सितर गुरुङ र सर्वाधिक गोलकर्ता विबेक रोका मगर घोषित भएको कास्की ह्याण्डबलका सचिव कृष्ण लम्सालले जनाए ।
प्रतियोगितामा च्याम्पियन भएको पोखरा एकेडेमीले नगद १० हजार र उपविजेता रहेको अल्फाले नगद रु ७ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा प्रतिभा मावि तेस्र्रो भएको छ ।
बिजेता टिम तथा खेलाडीहरुलाई शसस् प्रहरीबलका पूर्व प्रहरी महानिरिक्षक दुर्ज कुमार राई, दक्षिण एसियाली ह्याण्डबल महासंघका उपाध्यक्ष तेज बहादुर गुरूङ, कास्की ह्याण्डबलका अध्यक्ष चित्र बहादुर थापालगायतले नगद, मेडल तथा ट्रफी वितरण गरेका थिए ।
