
पोखरा स्पोर्टस । लिटिल स्टेप माविको आयोजना तथा पोखरा लिङ्कन इन्टरनेशनल कलेजको संयोजनमा सम्पन्न अन्तर विद्यालयस्तरीय १२औं लिटिलस्टेप जुनियर यू–१२ छात्र/छात्रा ह्याण्डबल प्रतियोगितामा अल्फा मावि र हिमालयन मावि बिजेता बनेका छन् ।
पोखरा ८ स्थित लिटिलस्टेप माबिद्वारा आयोजित उक्त प्रतियोगितामा छात्रतर्फ अल्फा र छात्रातर्फ हिमालयन मावि बिजेता बनेका हुन् । विद्यालयकै आफ्नै खेल मैदानमा बिहिबार सम्पन्न छात्रतर्फ फाइनलमा अल्फाले आयोजक लिटिलस्टेपलाई ७–३ र हिमालयनले आयोजककै टिमलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
त्यस्तै छात्रतर्फ दुई सेमीफाइनालिष्ट टिम पोखरा एकेडेमी र माउन्ट अन्नपूर्ण त्यस्तै छात्रातर्फ माउन्ट अन्नपूर्ण र गण्डकी बोर्डिङस्कुलले तेस्रो स्थान हात पारे ।
बिजेता टिमलाई नगद रु ८–८, उपविजेतालाई ७–७ र तेस्रो हुने टिमलाई जनही समान नगद रु ६–६ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसै गरी सर्वाधिक गोलकर्ता अन्तर्गत छात्रतर्फ अल्फाका विश्वास केसी र छात्रातर्फ लिटिल स्टेप माध्यमिक विद्यालयकी एलिना गुरुङ जनही नगद रु.१ हजारसहित पुरस्कृत भए भने फेयर प्लेमा छात्रतर्फ विन्देश्वरी आदर्श बोर्डिङ स्कूल र छात्रातर्फ सृजना मा.वि.नगद रु.१ हजारसहित पुरस्कृत भएका छन् ।
त्यस्तै छात्रतर्फ अल्फा बोर्डिङका विपिन छन्त्याल र छात्रातर्फ हिमालयन बोर्डिङ स्कूलकी सुनसुभ थापामगर उत्कृष्ट खेलाडी तथा छात्रतर्फ उत्कृष्ट गोल रक्षक लिटिल स्टेपका देवबहादुर मगर र छात्रातर्फ हिमालयन बोर्डिङ स्कूलकी वर्षा घोषित हुँदै उनीहरु समान नगद रु १–१ हजारद्वारा पुरस्कृत भए ।
बिजेता टिम तथा खेलाडीहरुलाई शसस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्जकुमार राई, विद्यालय संस्थापक अध्यक्ष शेरबहादुर गुरुङ, विद्यालयकी प्रिन्सिपल पम्फा गुरूङलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा छात्रतर्फ २१ र छात्रातर्फ १३ गरी कुल ३४ टिमको सहभागिता रहेको थियो । सो प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच दक्षिण एसियाली ह्याण्डबल महासंघका उपाध्यक्ष तेज बहादुर गुरूङले उद्घाटन गरेका थिए ।
