
पोखरा स्पोर्टस । संघिय सरकारका सूचना एवं प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरूङ संग सहारा क्लबका पदाधिकारीहरुले भेट गरेका छन् ।
सहारा क्लबको आयोजनामा आसन्न २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सहयोगको सन्दर्भमा मन्त्री गुरूङ संग भेट गरेको क्लबले जनाएको हो । सहारा क्लबका अध्यक्ष केशवराज बरालसहितको टोलीले मन्त्री पोखरा आएको बेला पारेर भेट गर्दै आहा रारा पोखरा गोल्डकपलाई सफल बनाउन सहयोगका लागि आग्रह गरिएको क्लबका महासचिब रामजी प्रसाद अधिकारीले जनाए ।
भेटका अवसरमा गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री समेत रहेका संघिय सरकारका प्रवक्ता गुरूङले प्रतियोगिता सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको महासचिब अधिकारीले जानकारी दिए । मन्त्री गुरुङले भेटका अवसरमा पोखराको खेलकुदको बारे चासो राख्दै देशकै प्रतिष्ठित गोल्डकप सफल बनाउन आफ्नो सहयोग रहने जनाउँदै प्रदेश सरकार र पोखरा महानगर पालिकाको बजेट निरन्तरताको बारेमा समेत् चासो लिएका थिए ।
सो अवसरमा क्लबका अध्यक्ष बरालसहित मानार्थ सदस्य मुछेत्र गुरुङ, सल्लाहकार दिपेन्द्र श्रेष्ठ, क्लबका पूर्व अध्यक्षहरु विक्रम थकाली, बिरभद्र आचार्य, हरेराम गुरूङ ‘सुरज’, बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, सचिब टंक पौडेल, सहकोषाध्यक्ष अशोक लालचन, मिडिया प्रमुख सुदर्शन रञ्जित लगायतको सहभागिता रहेको थियो ।
२४ औं संस्करणको आहा रारा पोखरा गोल्डकप यहि माघ २२ गते देखि फागुन ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।
