
पोखरा स्पोर्टस । पिएम कप गण्डकी प्रदेशस्तरीय महिला क्रिकेटमा स्याङजा जिल्ला च्याम्पियन भएको छ । पोखरा क्रिकेट रंगशालामा बिहिबार भएको फाइनलमा स्याङजाले घरेलु टोली कास्कीलाई ८ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

फाइनल खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कास्कीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनायो । कास्कीकी रेखा तामाङले ३८ बलमा ३८ रन, रिया थापाले ४० बलमा २९ रन र सिर्जना पौडेलले १३ रन बनाइन् ।
स्याङजाका लागि अपेक्षा बुढाथोकीले ४ ओभरमा २० रन दिएर ३ बिकेट लिइन् । त्यस्तै निरु जिटीले १ विकेट लिइन् ।
स्याङजाले जवाफी व्याटिङ गर्दै १९.३ ओभरमा २ विकेट गुमाउँदै ११४ रनको बिजयी पारी खेल्यो ।
स्याङजाकी कप्तान श्रेया शाहले ५६ बलमा चार चौकाको मद्धतमा ४५ रन बनाइन् । उनी शुसिला दिम्दोङ तामाङको बलमा बोल्ड भइन् । सलिना सेनले नट आउट रहँदै चार चौकाको सहयोगमा ४९ बलमा ३९ रन जोडिन् । फाइनल खेलको म्यान अफ दि म्याच श्रेया शाह बनिन् ।
प्रतियोगितामा प्लेयर अफ दि सिरिजको उपाधि कास्कीकी सिर्जना पौडेल बनिन् । उनी उत्कृष्ट व्याटर पनि भइन् । त्यस्तै स्याङजाकी अपेक्षा शाह उत्कृष्ट बलर घोषित भइन् ।
प्रतियोगितामा बिजयी टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम, प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रकाश पौडेल, कोषाध्यक्ष दिवाकर थापा सदस्य विद्या भट्टराईलगायतले ट्रफी वितरण गरेका थिए ।
