कीर्तिमानी रजत विजेता राजभण्डारीको सहयोगमा पीडितलाई राहत

पोखरा, एसियाली खेलकुदको तेक्वान्दोमा रजत जितेकी सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत पीडित परिवारलाई मंगलबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ ।

सवितासहित उनका पति किशोर श्रेष्ठको सहयोगमा काठमाडौं महानगरपालिका वडा ११ का २ सय पीडित परिवारलाई राहत प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले पीडित वर्गको पहिचान गर्दै सम्बन्धितलाई वितरण गर्ने गरी वडा अध्यक्ष हीरालाल तण्डुकारलाई राहत सामाग्री हस्तान्तरण गरे ।

सो अवसरमा वडा सदस्य समेत रहेका चार पटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलगायतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । हस्तान्तरण गरिएका खाद्य सामाग्रीमा चामल, चिउरा, आलु, प्याज, नुन, तेल र साबुन रहेका छन् ।

सविताले सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा रजत जितेकी थिइन् । एसियाली खेलकुदमा कुनैपनि नेपाली खेलाडीले व्यक्तिगत स्पर्धामा जितेको यो एक मात्र रजत पदक पनि हो । टिम स्पर्धामा भने नेपालले प्याराग्लाइडिङमा रजत जितेको छ ।

सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालले पुरुष टिम क्रस कन्ट्रीमा रजत जितेको थियो । सविताका पति किशोरले पनि सन् १९९८ कै बैंकक एसियाडको तेक्वान्दोमा कांस्य जितेका थिए । उनीहरु अमेरिकाको सियाटलमा बस्छन् । २०७२ सालको विनाशकारी भुकम्पबाट पीडितहरुलाई पनि उनीहरुले आर्थिक सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close