राखेपले बोलायो बोर्ड बैठक, के के छन् एजेन्डा ?

पोखरा स्पोर्टस । यहि मंसिर २ गतेबाट सुरु हुने भनिएको दशौं राष्ट्रिय खेलकुदको मिति घर्किसक्दा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बोर्ड बैठक बोलाएको छ ।

राखेपले यहि मंसिर १४ गते बोर्ड बैठक बोलाएको हो । राखेपको बैठक १५ महिना पछि बस्न लागेको हो । बोर्डको ११८ औं बैठकमा विभिन्न ६ एजेण्डासहित विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।

यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा राष्ट्रिय खेलकुद प्रतियोगितालाई पहिलो एजेण्डाका बारेमा अघि सारिएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो एजेण्डासहित राष्ट्रिय खेलकुदको प्रतियोगिता २०७९ संचालन निर्देशिका संसोधन, प्रथम पारा राष्ट्रिय खेलकुद २०८१, विश्वविद्यालय खेलकुद, जुनियर खेलकुद प्रतियोगिता कार्यविधि र राष्ट्रपति रनिङ्ग शिल्ड रहेका छन् ।

त्यसै गरी बैठकमा राखेप विनियमावलीलाई समेत प्रस्तावको रुपमा अघि सारिएको छ । जस अन्तर्गत राखेपमा कार्यरत कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्वन्धि विनियमावली, आर्थिक प्रशासन विनियमावलीलाई समेत एजेण्डालाई बैठकमा छलफल हुने जनाइएको छ । बैठकमा विद्यालय खेलकुद पाठ्यक्रम, सिएसआर र खेलाडी आवासका बारेमा समेत छलफल हुनेछ ।

राखेपको बोर्ड बैठक बस्ने भए पछि खुसी व्यक्त गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले खेलकुदमा देखिएको अन्यौलता लाई हटाउन बोर्ड बैठक महत्वपूर्ण हुने जनाएका छन् ।

पोखरा स्पोर्टस संग कुरा गर्दै उनले भने–“प्रदेश खेलकुद परिषद गण्डकीले यूवा तथा खेलकुद मन्त्री ज्यूलाई बैठक बोलाउन र खेलकुदमा देखिएको अन्यौलतालाई हटाउन आग्रह गरेका थियौं । पछिल्लो समय अन्य प्रदेशका सदस्य सचिबहरुले समेत सोही प्रकारको अनुरोध गरे । यसले खेलकुदमा देखिएको अन्यौलता हट्ने छ भने नयाँ गतिमा खेलकुद प्रवेश गर्नेछ ।”

यस्तै सुदुर पश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक सिंहले समेत बोर्ड बैठकको सूचना प्रति खुसी ब्यक्त गर्दै लामो समयको खेलकुद अन्यौलतालाई चिर्न सहयोग पुग्ने बताए ।

मन्त्री चौधरीलाई आफूहरुले बोर्ड बैठक बोलाउन र राष्ट्रिय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्डको मिति तय गर्न भनेको बताउँदै उनले भने–“खेलाडीहरु दुई वर्ष देखि नै राष्ट्रिय प्रतियोगिताको तयारीमा छन् । यि प्रतियोगिताहरु राष्ट्रिय प्रतिभा छान्ने समेत हुन् । अर्कोतर्फ मौसम अनुकुलता पनि यो संग जोडिएको छ । त्यसै हामीले मन्त्री ज्यूलाई अन्यौलता हटाउन आग्रह गरेको थियौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close