
पोखरा स्पोर्टस । नेपाली कराँते खेल संघहरुका विच आपसी मनमुटाव संगै उत्पन्न विवाद छानविन शुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गत भदौ २० गते राखेप सदस्य सम्पन्न श्रेष्ठको संयोजकत्वमा गठित समितीले छानविन शुरु गरेको हो । नेपालमा रहेका २० वटा कराँते संघहरुका विच नै आपसी विवाद बढे सँगै महासंघमा आवद्ध केही संघहरुले दमन वस्नेत नेतृत्वमा रहेको फुल कन्ट्याक्ट कराँते महासंघ विरुद्ध राखेपमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा राखेपले छानविन समिती गठन गरेको हो ।
अहिले दमन बस्नेत नेतृत्वमा रहेको फुल कन्ट्याक्ट कराँते महासंघले राखेपले महासंघको सदस्यमा सिफारिस गरेका सूर्य वुढाथोकीलाई कार्वाही गरी सदस्यबाट हटाएको छ भने राजेन्द्र सुवेदी र दिपक बहादुर गोदारलाई समेत कार्वाही गरेको छ ।
संघहरुले फुल कन्ट्याक्ट महासंघमा अधिवेशन हुन नसकेको, मनोमानी रुपमा सदस्यहरुलाई कार्वाही गरिएको, एकलौटी निर्णयमा महासंघ अघि बढेको, महासंघमा संघ दर्ता गर्दा ४० हजार लिएको, मुख्य प्रशिक्षक नियुक्ति मनोमानी रुपमा गरिएको, आर्थिक पारदर्शिता नभएको लगायत ८ वटा उजुरी सहितको ज्ञापनपत्र गत महिना सदस्य सचिव रमेश कुमार सिलवाललाई बुझाएका थिए ।
राखेप सदस्य श्रेष्ठले छानविनका लागि महासंघका अध्यक्ष बस्नेत, महासचिव, सचिव र केही संघका अध्यक्षहरुलाई आइतबार राखेपमा बोलाइएको पोखरा स्पोर्टसलाई जानकारी दिएका छन । “हामीले लिखित रुपमा पत्र काटेर नै उहाँहरुलाई बोलाएका छौं अव छानविन घनिभुत रुपमा अघि बढ्छ”, राखेप सदस्य श्रेष्ठले भने–“हामी गत भदौ २३ गते बाट सुक्ष्मरुपमा अध्ययन गरेर अनुशन्धान गरिरहेका थियौं, नेपाली खेलकुदमा देखिएको यो वेथतीको अन्त्य तत्कालै हुनुपर्छ भन्ने मान्यतामा हामी अडिग छौं त्यसैले हामी निष्कर्ष सहितको प्रतिवेदन बुझाउनेछौं ।” उनले महासंघ र महासंघ संग रुष्ट संघका सबै अध्यक्षहरुलाई छानविनका लागि बोलाउने बताए ।
महासंघमा आवद्ध संघहरुनै महासंघ विरुद्ध उजुरी दिए पछि वस्नेत समर्थक संघ र उनको विरुद्धमा रहेका संघहरु विच यति बेला एक अर्कालाई हिलो छ्याप्ने काम भइरहेको बताउँदै राखेप सदस्य श्रेष्ठले यस्ता विवादले नेपाली कराँते मात्रै नभई खेलाडी र सिङ्गो खेलकुद जगतलाई समेत हास्यको पात्र बनाएको बताए । उनले भने–“संघहरु आफ्नो खेल गतिविधि गर्न स्वतन्त्र छन् तर संघहरुको कति पारदर्शी रुपमा अघि बढेका छन त्यो पनि छानविन हुन्छ ।”
छानविनको क्रममा कराँते संघहरुको लेखा परिक्षण, विधान, माइन्यूट लगायतका विषयहरुलाई समेत प्राथमिकताका साथ छानविन गरिने बताउँदै राखेप सदस्य श्रेष्ठले भने–“महासंघ होस वा संघहरु कतिको ‘सिष्टेमेटिक’ रुपमा अघि बढेका छन् त्यो हाम्रो छानविनको मुख्य विषय हो ।” छानविनका लागि दिएको जिम्मेवारी अनुसार महासंघ र संघहरु विच सञ्चालन विधी, प्रक्रिया र अन्तरसम्वन्ध, संघलाई व्यवस्थित तथा मर्यादित बनाउने बारे छानविन टोलीले विशेष रुपमा अघि बढाउने उनले बताए । “छानविनको क्रमम सत्य तथ्य जे आउँछ हामी त्यो बुझाउँछौं”, उनले भने ।
राखेपले सदस्य श्रेष्ठको नेतृत्वमा पाँच सदस्यिय छानविन समिती गठन गरेको छ । जसको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बहादुर विक, प्रशासन विभाग प्रमुख भोजानन्द राई, आपूर्ती तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, संघ संस्था समन्वय शाखाका प्रमुख सरोज पोखरेल रहेका छन । समितिले चाँडै नै छानविनको प्रतिवेदन निष्कर्ष सहित सदस्य सचिवलाई बुझाउने समेत राखेप सदस्य श्रेष्ठले बताए ।
फुल कन्ट्याक्ट कराँते नेपाल भित्राउने मुख्य श्रेय भने जगत गौचनलाई जान्छ । २०३९ सालमा मार्शल आर्टस खेलका रुपमा फुल कन्ट्याक्ट कराँते नेपालमा दर्ता भएको थियो ।
अहिले दमन बस्नेत नेतृत्वमा रहेको फुल कन्ट्याक्ट कराँते महासंघले राखेपले महासंघको सदस्यमा सिफारिस गरेका सूर्य वुढाथोकीलाई सदस्यबाट कार्वाही गरी हटाएको छ भने राजेन्द्र सुवेदी र दिपक बहादुर गोदारलाई समेत कार्वाही गरेको छ ।
