भारोत्तोलन संघद्वारा मन्त्री लामालाई बधाई

पोखरा स्पोर्टस । नेपाल भारोत्तोलन संघका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

संघका अध्यक्ष राम श्रेष्ठ ‘बोस’, उपाध्यक्ष तथा ओलम्पिक खेलाडी जगदीश प्रधान, महासचिव तिलक राउत, सचिव कुमार श्रेष्ठ, सदस्यहरु गोपाल श्रेष्ठ, रत्नमान माली, गीता श्रेष्ठलगायतले युवा तथा खेलकुद मन्त्रालयमा भेटेर मन्त्री तामाङलाई कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलाडी प्रोत्साहन भत्तालाई निरन्तरता दिने निर्णय गरेकोमा मन्त्री तामाङको प्रशंसा गरे । यस कार्यबाट ओलम्पियन, एशियाली, दक्षिण एशियाली प्रतिस्पर्धामा पदक जितेका खेलाडीहरु लाभान्वित हुने भएकाले खेलाडी तथा खेलकर्मीहरु हर्षित बनेको श्रेष्ठले बताए । भारोत्तोलन संघको विकास र बिस्तारमा मन्त्रालयको साथ र सहयोग रहने आशा श्रेष्ठले व्यक्त गरे ।

सर्वाधिक अन्तर्राष्ट्रिय पदक ल्याउने खेल भारत्तोलनको कार्यालय समेत नहुनु र प्रशिक्षकको कमी हुनु बिम्डबनापूर्ण रहेको महासचिव राउतले बताए । पर्याप्त प्रशिक्षक उपलब्ध गराउन र पूर्वाधारको निर्माणमा सहयोग गर्न उनले मन्त्री तामाङसंग आग्रह गरे । पदक जित्ने खेललाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने सुझाव राउतले मन्त्री तामाङलाई दिए ।

मन्त्री तामाङले भारोत्तोलन संघका पदाधिकारीहरुसंगको भेटघाट र अन्तक्र्रियाले आफुलाई थप सक्रिय हुन उर्जा मिलेको बताए । खेलक्षेत्रका व्यक्तिहरुसंग यस क्षेत्रको विकास तथा बिस्तारका लागि परामर्श गर्ने क्रम निरन्तर चलिरहेको बताए । ‘खेलाडी तथा खेलकर्मीका सुझावहरुलाई मनन गर्दै यस क्षेत्रको विकासमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछु । मन्त्रालयले खेलाडी र खेलकर्मीलाई नै केन्द्रमा राखेर विकासका कार्यक्रमहरु ल्याउनेछ,’ मन्त्री तामाङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close