
पोखरा स्पोर्टस । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विद्याका मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले सोमबार पत्रकार सम्मेलनमार्फत २१औं संस्करणको अवार्डको चार विद्याका मनोनयन सार्वजनिक गरेको हो । चार विद्यामा उत्कृष्ट ५/५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् । उक्त अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् । महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी मनोनयनमा परे ।
२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधार मनोनयनमा समावेश गरिएको हो । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो । यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) मनोनयनमा परेका छन् ।
अवार्ड आगामी भदौ २८ गते कमलदीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदै छ । छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिए । मनोनयन सार्वजनिक कार्यक्रममा एआइपिएसका केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु धेरै राम्रो पक्ष रहेको उल्लेख गर्दै शुभकामना दिए । यसपालि मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्दै छ । एनएसजेएफए आइपिएस एसियाको सदस्य हो ।
यसअघि अवार्डको पिपल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसकेका छन् । यसको विजेता घोषणा इसेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोर्ट्स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइक आधार गरिनेछ । इसेवाको मत भदौ २७ गते राती १२ बजेसम्म खुला रहनेछ ।
अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन गर्दै आएको छ ।
यसपल्ट वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटर बाइक प्रदान गरिनेछ । पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
सदाझै यस वर्ष पनि पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुपको पल्सर मोटरसाइकल रहेको छ ।
