
पोखरा स्पोर्टस । नेपाल भलिबल संघले काभा यू–२० पुरुष भलबिल च्याम्पियनसिपका लागि पहिलो चरणमा १८ जना खेलाडीहरुको छनौट गरी बन्द प्रशिक्षणका लागि बोलाएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा)को आयोजनामा सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाइएको हो । पहिलो पटक आयोजना हुन लागेको यू–२० पुरुष काभा यू–२० पुरुष भलबिल च्याम्पियनसिप श्रीलंकाको राजधानी कोलोम्बोमा यहि अक्टोबर ३ देखि ९ तारिख (असौज १७–२३) सम्म सञ्चालन हुँदैछ ।

पहिलो चरणको छनौटका लागि बन्द प्रशिक्षणमा बोलाएका खेलाडीहरु मध्ये गण्डकी र लुम्बिनी प्रदेशबाट ५–५ जना, सुदुर पश्चिमबाट ४, बागमती, कोशी, कर्णाली र मधेश प्रदेशबाट १–१ जना रहेका छन् ।
गण्डकी प्रदेशबाट छनौटमा पर्ने खेलाडी सरोज बर्देवा, सूर्य विक, विश्वास अधिकारी, युक्सन थापा र जित बहादुर सार्की रहेका छन् । त्यस्तै लुम्बिनीबाट लेसमन राहादी, रेशम विक, सागर रसौली, दिपेश कुंवर र सौरभ फुन्जेली रहेका छन् । सुदुर पश्चिमबाट सुनिल बोहरा, अर्जुन नेपाली, अशोक राना र सुरेश मल्ल छन् ।
त्यसै गरी मधेश प्रदेशबाट शैलेन्द्र यादव, कोशीबाट अभिषेक थापा, बागमतीका सुजन सुनार र कर्णालीका पहल गहतराज रहेका छन् ।
खेलाडीहरुको बन्द प्रशिक्षण भाद्र ८ गतेबाट सञ्चालन हुने नेपाल भलिबल संघले जनाएको छ । बन्द प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा सञ्चालन हुनेछ ।

