पोखरा रंगशालामा हेला भएको स्केट पार्क तर विदेशीको आखाँमा विश्वकै उत्कृष्ट

केशव पाठक / पोखरा स्पोर्टस । ठिक चार वर्ष अघि पोखरा रंगशालामा नेपालकै ठूलो स्केट पार्क निर्माण भयो । त्यो पनि विदेशीहरुको श्रमदान र सहयोगमा । त्यती बेला उनीहरुले ३५ हजार डलर अर्थात करिव ३५ लाख खर्च गरे । विभिन्न देशबाट आएका करिव १ सय जना स्वयंसेवीहरुले करिव एक महिना श्रमदान गरे ।

पोखरा स्पोर्टस सँग कुरा गर्दै जर्मनीका आर्न हिलेर्न्स

तर वितेको चार वर्षमा केही स्केटमा रमाउने केही यवाहरु बाहेक अरुको ध्यान भने खिच्न सकेन । त्यही विचमा एउटा राष्ट्रिय प्रतियोगिता समेत आयोजना भयो । पार्कलाई चारै तिर झाडीले घेर्यो । घाँसले ढपक्कै ढाक्यो । विदेशीहरुले नेपालको खेल विकासका लागि गरेको योगदानको खासै मुल्याङ्कन हुन समेत सकेन । किन भने त्यसमा राज्यको कुनै लगानी थिएन । न त त्यसबाट कुनै व्यक्तिगत लाभ लिने कुरा । तत्कालिन सिङ्गो पश्चिमाञ्चल क्षेत्रिय खेलकुद र कास्की जिल्ला खेलकुद स्केट पार्क नभएकै जस्तो गरी निदाएर बस्यो ।

चार वर्ष हघि निर्माण गरिएको स्केट पार्क

तर विदेशीहरुका लागि भने पोखरालाई स्केट पार्क खेलका लागि स्वर्ग ठाने । स्थानिय खेलाडीहरुलाई प्रशिक्षण समेत दिए । पोखराका पाँच जना यूवा खेलाडीले युरोप भ्रमण समेत गरे । ति थिए गजेन्द्र वर्देवा, जागृत पाहाडी, मिलन शाह ठकुरी, धिरज परियार र सन्दिप शाह । ति मध्ये गजेन्द्र दुई पटकका राष्ट्रिय च्याम्पियन समेत हुन । “हातमा स्केट बोकेर रंगशाला प्रवेश गर्दा हामीलाई ट्यावेको उपमा भिराइयो” गजेन्द्रले दुःख पोख्दै भने–“हामीलाई रंगशालामा कहिल्यै पनि खेलाडीको रुपमा हेरीएन तर हामीले युरोपमा पुगेर समेत खेलेर आयौं ।”

चर्को घाममा सुस्ताउँदै स्केट पार्क निर्माण स्वयसेवीहरु

यति बेला पोखरा रंगशालामा १० जना विदेशी सहित ४ जना नेपालीहरुले श्रमदान गर्दै पुरानो स्केटपार्क सँग जोडेर वृहत स्केट पार्क धमाधम निर्माण गर्दैछन । जर्मनीका आर्न हिलेर्न्सको नेतृत्वमा ३ जना फ्रान्सेली, २ जना बेलायती र ४ जना भारतियहरु र ४ जना नेपालीहरु मिलेर स्केट पार्कलाई वृहतर रुप दिन थालेका हुन । नेपालमा कोभिड १९ का कारण कडा लकडाउन छ । तर पनि स्वयंसेवीहरु यति बेला पोखरा रंगशालामा घाम पानी नभनी दिनहुँ काममा खटिएका छन ।

अब निर्माण सम्पन्न भए पछि पोखरा रंगशालाको स्केट पार्क दक्षिण एशियाकै ठूलो स्केट पार्कको रुपमा निर्माण हुने स्वयंसेवी आर्नले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“हामीले यसमा २० हजार अमेरीकी डलर खर्च गर्दैछौ भने हामीले यो १० वा १२ दिनमा कार्य सम्पन्न गर्नेछौ ।” निर्माण सम्पन्न भए पछि यो विश्वकै अन्तर्राष्ट्रियस्तरको स्केट पार्कको रुपमा रहने आर्नको भनाई छ । “यहाँको यूवाहरु यूरोपमा समेत पुगेर खेलेर आए,” उनले भने–“अब उनीहरुको यात्रा भनेको ओलम्पिकको हो, पुराने पार्क सानो भएकोले यसलाई अझै ठूलो र ओलम्पिक खेलमा सहभागिता हुन सक्ने गरी प्रशिक्षण गर्न सकिने पार्कको स्वरुप दिन थालेका छौं ।” स्केट पार्कको निर्माणले नेपाली यूवाहरु एक दिन पक्कै ओलम्पिकको यात्रा तय गर्ने र त्यो दिन एकदमै नजिक रहेको उनको भनाई थियो ।

यतिबेला निर्माण हुने स्केट पार्कमा कार्यालय सहित शौचालय गरी करिव ३ सय ५० स्क्वार मिटरमा तयार हुने छ भने यसलाई अर्को वर्ष ६ सय ५० गरी करिव १ हजार स्कवायर मिटरमा फैलाउने योजना रहेको आर्नले बताए । ‘माई लाइफ स्केट लाइफ’को नारा दिएर विश्वभर स्केट पार्ककका लागि कोष निर्माण गरीएको बताउँदै आर्नले कोभिडको समस्या नभएमा पुनः नेपाल आएर यसलाई पूर्णता दिने बताए ।

करिव ११ वर्ष देखि पोखराको स्केटवोर्ड बिकासमा योगदान दिने रामचन्द्र कोइराला कास्की जिल्ला स्केटवोर्ड संघका अध्यक्ष समेत हुन । उनकै पहलमा विदेशीहरु यति बेला श्रमदान गरिरहेका छन । उनले भने–“११ वर्ष अघि अष्ट्रेलियाबाट पढेर आँए, त्यही बाट करिव १ सय थान बोर्ड समेत ल्याँए ।” उनी स्केटको शौखिन भएकोले पनि आफ्नै जग्गा लेकसाइडमा स्केट पार्क समेत निर्माण गरे । अनि यसमा रुची राख्ने यूवाहरुको जमात विस्तारै बढ्दै गएको उनले बताए । खेल र व्यवसाय सँग जोडिएको स्केट बोर्डको उनको यो यात्रा यति बेला ओलम्पिक सम्म पुगेर टुँगियो भने अचम्भ नमान्दा हुन्छ । किनभने जापानमा हुने टोकियो ओलम्पिकमा स्केटवोर्ड खेलले स्थान पाएको छ । नेपालले पहल गर्यो भने वाइल्डकार्ड मार्फत ओलम्पिक पुग्ने नेपाली खेलाडीको आशा जिवितै हुनेछ, त्यो पनि पोखरेली खेलाडीको ।

पोखरा रंगशालाको दक्षिण पट्टिको एक कुनामा हेलामा परेको स्केट पार्क र त्यहाँबाट उत्पादन हुने नेपाली खेलाडीको भविष्य उज्जवल बनाउन विदेशीहरुले साँचेको सपना देख्दा सबैलाई आश्चर्य लाग्न सक्छ । चार वर्ष र अहिले निर्माण भइरहेको स्केट पार्कमा विश्वका असँख्य स्केट खेलप्रेमीहरुको ५५ हजार अमेरीकी डलर खर्च भइसकेको छ । नेपाली खेल क्षेत्रको जिम्मेवार ठाउँमा बसेकाहरुले यो खेलको प्रवर्धन र निर्माण भएको स्केट पार्कको संरक्षणका लागि केही गर्नुपर्ने दायित्व पनि यो सँगै थपिएको छ ।

One Comment

  1. Salute to all dear foreigner and local friends for their financial support, dedicated efforts and hard work. Highly appreciate your efforts.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close