गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट : स्याङजा फाइनलमा , कास्की संग भिड्ने

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङजाले स्थान पक्का गरेको छ ।

स्याङजा समुह बीको खेलमा दुईमा जित एकमा बराबरी अंक बाँड्दै ५ अंक बटुलेर फाइनलमा स्थान पक्का गरेको हो । भोली (बिहिबार) हुने फाइनलमा स्याङजाले घरेलु टोली कास्कीको सामना गर्नेछ । यस अघि नै कास्कीले समुह ‘ए’बाट फाइनलमा स्थान बनाएको थियो ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बलियो मानिएको नवलपुरलाई २ विकेटले पराजित गरी स्याङजा फाइनल प्रवेश गरेको छ । फाइनल पुग्न निकै दबावका बीच टस जितेर व्याटिङका लागि मैदानमा उत्रिएको नवलपुरले १७ ओभरमा सिमित गरिएको खेलमा १६.४ ओभरमा ७५ रन मात्रै बनाउन सक्यो ।

खेलमा नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए भने कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके त्यस्तै सुदिप अर्यालले १२ रनको योगदान दिए । पहिलो ओभरमा नै दुई विकेट गुमाउँदै दबावमा रहेको नवलपुर १३.६ ओभरमा ६८ रनमा ५ विकेट गुमाउन पुगेको थियो ।

स्याङजाका लागि प्लेयर अफ दि म्याच समेत रहेका सन्दिप खत्री क्षेत्रीले २.४ ओभरमा १४ रन दिएर २ विकेट लिए भने अंकित न्यौपानेले ३ ओभरको बलिङ स्पेलमा १३ रन खर्चिएर २ विकेट हात पारे ।

यता जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको स्याङजालाई जितका लागि अन्तिम ओभर कुर्नु पर्यो । स्याङजाले १६.२ ओभरमा ८ विकेटको क्षतीमा ७९ रन बनाउँदै लक्ष्य भेट्टायो । स्याङजाका लागि अनिष ताम्राकारले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदिप पाण्डेले नट आउट रहँदै ११ रन बनाए ।

नवलपुरका लागि कमल परियारले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिंदा दिपक डुम्रेले ३ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट लिए ।

यो समाचार तयार पार्दा सम्म पर्वत र गोरखाका बीच दोस्रो खेल जारी रहेको छ ।

फाइनल खेल भोली विहिबार हुनेछ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close