राष्ट्रपति रनिङ शिल्डमा ब्रेक ! संघिय सरकारले हटायो बजेट

पोखरा स्पोर्टस । नेपाली खेलकुदमा उमेर समुहको मेरुदण्ड मानिएको राष्ट्रपति रनिङ शिल्डमा अन्ततः ब्रेक लाग्ने भएको छ ।

१५ औं संस्करण पुरा गरेको उमेर समुह (१८ वर्ष मुनी)को उक्त प्रतियोगिता पालिकातह हुँदै राष्ट्रियस्तर सम्मको एक प्रतियोगिता रहे पनि संघिय सरकारले बजेटमा नै ब्रेक लगाए पछि राष्ट्रपति रनिङ शिल्डमा अनिश्चित हुने भएको हो ।

राष्ट्रपति कपका लागि आव २०८१/०८२ का लागि संघिय सरकारले बजेट कटौती गरे पछि धरापमा पर्ने निश्चित जस्तै भए पछि विभिन्न प्रदेशका खेलकुद सदस्य सचिवहरुले सामाजिक सञ्जालमा रोष प्रकट गरेका छन् । बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले लेखेका छन्–“विद्यालय खेलकुदको मेरुदण्ड राष्ट्रपती रनिङ्शिल्ड यो बर्ष नहुने निश्चित, केन्द्र सरकारबाट प्रदेश, जिल्ला र स्थानिय छनोटको लागी प्राप्त हुँदै आएको बजेट शुन्य्र ।”

सदस्य सचिव भण्डारीले संघिय सरकारको खेलकुद बजेट प्रति कटाक्ष गर्दै लेखेका छन्–“न कुनै राम्रो पुर्वाधार न कुनै राम्रो कार्यक्रम ।”

यता प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले समेत संघिय सरकारबाटै राष्ट्रपति रनिङ शिल्डका लागि बजेट नआउनु दुःखद रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–“रास्ट्रपति बिद्यालय रनिङ्ग शिल्डको निरन्तरतामा अफ्ट्यारो हुने भो । खेलकुदको जगको रुपमा नव प्रतिभाशाली खेलाडी उत्पादन भै रहेकोमा नेपाल सरकारको बजेटमा ससर्त अनुदान हटाईएको भनिएको छ हालसम्म प्राप्त सुचना बमोजिम यदि हो भने खेलकुद क्षेत्रको बिकास र बिस्तारमा गम्भीर अफ्ट्यारो हुने भएको छ ।”

सदस्य सचिव शर्माले राष्ट्रपति रनिङ शिल्डको मात्रै कुरा उठाएका छैनन् उनले स्वयंसेवक प्रशिक्षकहरुलाई दिंदै आएको अनुदान कटौती हुने भए पछि रोष प्रकट गरेका छन् । गण्डकीमा खेलकुद क्षेत्रमा ३० जना भन्दा वढि स्वयंसेवक प्रशिक्षक र विभिन्न जिल्लामा कार्यालयमा कार्यरत कर्मचारीहरु कटौती हुने भए पछि खेलकुद क्षेत्र थप समस्या आउनेमा चिन्ता समेत व्यक्त गरेका छन् । उनले भनेका छन्–“स्वयंसेवक खेल प्रशिक्षकको निरन्तरतामा अफ्ट्यारो हुने । खेलमैदान मर्मत सम्भार योजनाको निरन्तरता । अफ्ट्यारो हुने भो ।”

खेलकुदमा उमेर समुहको एक मात्र प्रतियोगितामा बजेट विनियोजन नहुनेले सरकारले नेपालको कानुनमा प्रदत बालबालिको अधिकार समेत कुञ्ठित गरेको सदस्य सचिब शर्माको भनाई थियो ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट खेलकुद विकासका लागि गण्डकी प्रदेश सरकारलाई शसर्त अनुदान प्राप्त गर्दै आएको र अभावका बीच जारी कार्यक्रमहरु धरापमा पर्नुले खेलकुदको जग प्रभावित हुने सदस्य सचिव शर्माको भनाई छ । उनले भनेका छन्–“कार्यक्रम तथा योजनाको संचालन र कार्यान्वयनका लागि स्थानीय पालिका र गण्डकी प्रदेशलाई वर्षौं देखि शसर्त अनुदान दिई आए बमोजिम कार्यक्रम जनतन अभाव हुँदाहुदै सन्चालन र आयोजना हुँदै खेलकुदको जगको रुपमा नव प्रतिभाशाली खेलाडी उत्पादन भै रहेकोमा नेपाल सरकारको वजेटमा शसर्त अनुदान हटाईएको भनीएको छ हालसम्म प्राप्त सुचना बमोजिम यदि हो भने खेलकुद क्षेत्रको बिकास र बिस्तारमा गम्भीर अफ्ट्यारो हुने छ ।”

राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत विभिन्न ६ खेलहरु सञ्चालनमा रहेका थिए । संघिय सरकारले हरेक पालिकाहरुलाई छनौटका लागि १–१ लाख, जिल्लाहरुलाई ४३ लाख र प्रदेशस्तर छनौट कार्यक्रमलाई समेत २२ लाख गरी गण्डकी प्रदेशमा मात्रै हरेक वर्ष १ करोड ५० लाख अनुदानको रुपमा दिंदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close