गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्की उपाधि नजिक

पोखरा स्पोर्टस/ तस्विर : बसन्त शेर्पा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्की उपाधि नजिक पुगेको छ । कास्कीले गि चरणका सम्पूर्ण तीन खेलमा जीत हात पार्दै उपाधि नजिक पुगेको हो । समुह ‘ए’को अन्तिम खेलमा बलियो मानिएको तनहुँलाई ७७ रनले जित हात पार्दै कुल ६ अंकका साथ फाइनलमा स्थान पक्का गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर व्याटिङ रोजेको कास्कीले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । खेलको म्यान अफ दि म्याच समेत रहेका कास्कीका अर्जुन कुमालले ३५ बलमा सात चौका दुई छक्का प्रहार गर्दै व्यक्तिगत ५८ रनको योगदान दिए भने त्यस्तै अभिशेक थापा नट आउट रहँदै ११ बलमा २ छक्का र एक चौकाको सहयोगमा २६ रन जोडे । त्यस्तै कास्कीका सोहेल कुंवरले २३, मुस्कान थापाले ११ र सिव्रीन श्रैष्ठले १० रनको योगदान दिए ।

बागलुङका लागि चन्द्रकान्त पौडेल, प्रदिप अर्याल, दिनेश वुढा मगर र अलिक श्रेष्ठले समान १–१ विकेट लिए ।

यता जवाफी व्याटिङमा उत्रिएको तनहुँ १८ ओभरमा सबै १० विकेट गुमाउँदै ९४ रनमात्रै जोड्न सक्यो । तनहुँका दिनेश बुढाले ४१ रनको योगादन दिंदा कप्तान समिर कंडेलले २२ र दिपेश अधिकारीले १८ रन बनाउनु बाहेक अन्य खेलाडी दोहोरो रन छुन सकेनन् । कास्कीका लागि कृष्ण पौडेलले उत्कृट बलिङ गर्दै ३ ओभरमा २ मेडनका साथ ४ रन दिएर ३ विकेट हात पारे भने विपिन खत्रीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए । त्यस्तै सुभास भण्डारीले २ विकेट र नितेश गिरीले १ विकेट लिए ।

यता आज नै ग्रुप समुहमा ‘ए’मा नै भएको प्रतिस्ठा जोगाउने खेलमा बागलुङ २९ रनले विजयी भएको छ । म्याग्दी विरुद्ध पारीको सुरुवात गरेको बाग्लुङ १८.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्रै बनाउन सक्यो । म्याग्दीका हरि सुवेदीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १३ रन दिएर ५ विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको म्याग्दी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ४७ रनमा समेटियो । बागलुङलाई जित दिलाउन संचार निउरेले ६ विकेट लिए । उनले आफ्नो चार ओभरको स्पेलमा १० रन मात्रै दिए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार समुह ‘बी’को पहिलो पर्वत र नवलपुरका बीच हुनेछ भने दोस्रो खेल स्याङजा र गोरखाका बीच हुनेछ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close