
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशमा सहायक प्रशिक्षक उत्पादनका लागि गरेको तिन महिने प्रशिक्षणमा सहभागि प्रशिक्षक र खेल विज्ञहरुलाई पोखरामा स्वागत गरेको छ ।
विभिन्न खेल विद्याका प्रशिक्षक र स्पोर्टस साइन्स तर्फका विज्ञहरुलाई परिषदले पोखरामा स्वागत गरेको हो । गत पौष ५ गते बाट सुरु गरिएको तिन महिने सहायक प्रशिक्षणमा २३ जना प्रशिक्षकहरु सहभागि छन् । उक्त कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङले सिमित स्रोत र साधनका बाबजुद समेत परिषदले आयोजना गरेको कार्यक्रममा आफ्नो समय र योगदानका लागि उनीहरु प्रति आभार व्यक्त गरे ।
उत्कृष्ट प्रशिक्षक नहुँदा खेलाडी उत्पादन संगै खेलकुदको विकास अघि बढ्न नसक्ने बताउँदै सदस्य सचिव गुरुङले यो प्रशिक्षक प्रशिक्षणले नयाँ प्रशिक्षक उत्पादनमा महत्वपूर्ण सहयोग पुगेको बताए । उनले भने–“हामी संग बजेटको अभाव छ, सिमित स्रोत र साधनका बावजुद पनि हाम्रो यो अभियानमा यहाँहरु जोडिनु भएको छ, यसका लागि म आभार व्यक्त गर्न चाहन्छु ।” परिषदले यस प्रकारका कार्यक्रमहरु आगामी वर्ष समेत तय गर्ने जनाए ।
उक्त प्रशिक्षक प्रशिक्षणमा विभिन्न २३ खेलका ११८ जना प्रशिक्षकहरु सहभागी छन भने उनीहरुलाई विभिन्न विश्वविद्यालयका पि.एच.डी स्कलर र मुख्य प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन् । तिन महिना सम्म अनलाइन मार्फत स्पोर्टस साइन्सतर्फ कक्षा सञ्चालन भएको र यति बेला प्रयोगात्मतर्फका अन्तिम चरणका प्रशिक्षणहरु सञ्चालन भइरहेको कार्यक्रमका संयोजक कृष्ण तिमिल्सिनाले जानकारी दिए ।
उक्त प्रशिक्षणमा सञ्जय महर्जन, दिवाकरलाल अमात्य, प्रियङ्का वर्मा, कृष्ण तिमिल्सिना, अनिल अधिकारी, सुलोचना सिजख्या, कृष्णमायाँ स्याङतन, मेघराज कठायत, दिनेश चन्द्र नकर्मी, राजेन्द्र तुलाधर, शम्भु केसी, हिमाल दाहाल, बिजान्त शर्मा, विरेन्द्र रञ्जित, अन्जु रावत, बिमल पोखरेल, अचुत्तम लामिछाने, जगदिश भट्ट, गज बहादुर गुरुङ, गणेश अर्याल र अभिषेक कार्कीले अन्तिम चरणको प्रशिक्षण दिइरहेका छन् ।
