
पोखरा स्पोर्टस । जिल्ला र क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु अव देखि प्रदेश खेलकुदमा अनिवार्य हाजिर हुनुपर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को आइतबार काठमाडौंमा सम्पन्न ११३ औं वोर्ड बैठकले जिल्ला र क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारी र प्रशिक्षकहरु प्रदेश खेलकुद अन्तर्गत हाजिर हुनुपर्ने अस्थायी निर्णय गरेको हो ।

खेलकुद विकास ऐनका कारण राखेप अन्तर्गत कर्मचारीहरुको बारेमा निर्णय नभईसकेकोले सो अन्यौलतालाई तोड्दै कर्मचारीहरु समायोजनको निर्णय नभए सम्म प्रदेश अन्तर्गत गठित खेलकुद परिषदमा अनिवार्य हाजिर हुने गरी निर्णय भएको बैठकमा सहभागि प्रदेश नं १ का सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिए । “अव राखेपले अर्काे निर्णय नगरे सम्म जिल्ला र क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु भोलीबाटै प्रदेश खेलकुद अन्तर्गत हाजिर हुनेछन्,” उनले भने ।
“यो नै आजको महत्वपूर्ण निर्णय हो । प्रदेश खेलकुदमा कर्मचारी नहुनु अर्कोतर्फ जिल्ला र क्षेत्रका कर्मचारीहरु अन्यौलतामा रहेको अवस्था थियो” सदस्य सचिव वाग्लेले भने–“अव यो अन्यौलता तोडिएको छ । यो निर्णय पछि हामीलाई काम गर्न केही सहज हुनेछ ।” प्रदेश अन्तर्गत गठित खेलकुद परिषदमा कर्मचारी र प्रशिक्षक नभएर असहज भइरहेको र नवौंको तयारीमा असर पर्ने देखिए पछि राखेपको वोर्ड बैठकले यो अस्थायी निर्णय गरेको उनले जनाए ।
यूवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर जंग गहतराजको अध्यक्षतमा सम्पन्न बैठकमा सहभागि सुदुर पश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले कर्मचारीहरुको अन्यौलतालाई तोड्दै क्षेत्र र जिल्लामा कार्यरत कर्मचारीहरु समायोजन नभए सम्मका लागि प्रदेश खेलकुदमा हाजिर हुने निर्णय भएको बताए । पोखरा स्पोर्टस संग कुरा गर्दै सदस्य सचिव सिंहले भने–“विगतमा समेत यो निर्णय भएको थियो तर कार्यान्वयन हुन सकेको थिएन तर यो बैठकमा सोही विषयले प्रवेश पायो र निर्णय समेत भयो । प्रदेश खेलकुद राखेपका कर्मचारी साथीहरु संग मिलेर अघि बढ्न तयार रहेको समेत उनले बताए । यो निर्णय अस्थायी भए पनि आफूहरुलाई काम अघि बढाउन सहजता हुने उनको भनाई थियो ।
सदस्य सचिव सिंहले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक समिति र उपसमितिहरुमा गण्डकी प्रदेशका धेरै भन्दा धेरै लाई समेटेर अघि बढ्ने निर्णय समेत बताए । “गण्डकी प्रदेशमा नवौं आयोजना हुँदैछ । गण्डकीलाई अपनत्व ‘फिल’ हुने गरी समेट्नु पर्छ भन्ने कुरालाई बैठकले स्थापित गरेको छ ।” उनले भने ।
