पोखरा स्पोर्टस अवार्ड : ईन्द्रा मल्ललाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली मल्लले अवार्ड पाउने निश्चित भएको हो । मल्ललाई वैशाख २८ गते दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा सुरु हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ ।

कहिल्यै नथाक्ने ईन्द्रा
एथ्लेटिक्सकी ईन्द्राकुमारी मल्ल कहिल्यै नथाक्ने खेलाडीका रुपमा परिचित छिन् । हुनपनि ४० वर्षदेखि खेलकुदमा जीवन समर्पित गरेकी ईन्द्रा अहिलेपनि त्यसैका लागि अहोरात्र खटिन्छिन् । महिला चुलोचौकामा सिमित् हुने समयमा खेलकुदमा स्वर्णिम अक्षरले नाम लेखाउने ईन्द्रा त्यस समयकी ज्योति हुन् । घरबाट बाहिर निस्किदा कुरा काट्ने समयमापनि पुरुष सरह खेलेर गर्विलो इतिहास बनाएकी उनी खेलकुद क्षेत्रकी एक्ली बृहष्पती हुन् भन्दा फरक नपर्ला ।

वि‍सं‍२०२४ सालमा भारतको अम्बला केन्ट पञ्जावमा बुबा स्व।टीकाबहादुर मल्ल र आमा लक्ष्मीकुमारी मल्लको कोखबाट जन्म लिएकी ईन्द्रा सानैदेखि खेलकुदप्रति रुची राख्थिन् । लाहुरे बुबाका कारण भारतमै कक्षा ७ सम्म अध्ययन गरेकी उनी विद्यालय स्तरीय प्रतियोगिताहरुमा भाग लिईरहन्थिन् । कक्षा ८ अध्ययन गर्नभने उनी आफ्नो पुख्र्यौली थलो स्याङ्जा पुतलीबजार फर्किईन् र त्यहिंको कोल्मा वराह माविमा अध्ययन गर्न थालिन् । त्यहाँपनि उनी विद्यालय स्तरिय विभिन्न खेलकुद प्रतियोगिताहरुमा भाग लिईरहन्थिन् ।

यस अगाडि मञ्चले यो अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा. वीरेन्द्रसिंह गुरुङ, चित्र बहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्या प्रसाद मर्सानीलाई सम्मान अर्पण गरिसकेको छ ।

ईन्द्राको बुबा स्वर्गिय टीकाबहादुर मल्ल भारतीय पल्टनमा काम गर्थे । उनी बक्सिङका नामुद खेलाडी थिए । ईन्द्राका बुबामात्र होईन मामा यामबहादुर शाहीपनि बक्सिङका खेलाडी थिए । तीनै बुबा र मामाको प्रेरणामा ईन्द्राले क्याम्पस जीवनमापनि खेलकुदलाई निरन्तरता दिईन् । उनी एथ्लेटिक्ससहित भलिबल, बास्केटबल, टेबलटेनिसलगायतका खेलहरु खेल्थिन् । तर विशेष रुची भने एथ्लेटिक्समै थियो । खास गरेर उनी एक सय मिटर, दुई सय मिटर, चार सय मिटर दौडमा सँधै प्रथम हुन्थिन् । पछि १ हजार ५ सय मिटर, ३ हजार मिटर, ५ हजार मिटर र १० हजार मिटरको धाविका बनिन् ।

जीवन नै खेलकुदका लागि समर्पित गरेकी ईन्द्राले धेरैपटक खेलकुदका लागि त्याग गरेकी छन् । उनले खेलकुदकै लागि कहिले पढाई त्यागिन् त कहिले स्थायी जागिर । वि।स।२०५६ सालतिर ईन्द्रा एमएड अध्ययन गरिरहेकी थिईन् । त्यहिबेला उनलाई भारतमा नेसनल ईन्ष्टिच्यूट अफ स्पोर्टस् (एनआईएस)मा डिप्लोमा गर्ने अवसर आयो । पढाई र खेल मध्ये एक रोज्नुपर्ने बेलामा उनले किञ्चित नसोंची खेलकुद रोजिन् ।

त्यतिमात्र होईन उनले शिक्षिकाको स्थायी जागिर छाडेर खेलकुद राजेको इतिहास छ । २०४० सालदेखि अस्थायी र २०४५ सालदेखि प्राविको स्थायी शिक्षिका बनेकी उनले २०५० सालमा आएर शिक्षिकाको स्थायी जागिर कि खेलकुदमा सहायक प्रशिक्षकको अस्थायी जागिर छान्ने दिन आयो । तर यसमापनि उनले दोधार नभई खेलकुद नै रोजिन् ।

खेलकुदमा लागेर उनले धेरै पाएकी छन् । नाम, दामसँगै ईज्जतपनि पाएकी छन् । ईन्द्रा मल्ल कसैले चिन्छ भने त्यो खेलकुदले नै दिएको हो । खेलकुदबाहेक अर्को केहि नसोंचेकी उनलाई खेलकुदमा राजनीति भएर अवसरबाट बञ्चित गराईंदा भने दुःख लाग्छ । जापानको टोकियोमा भएको ३२ औं ओलम्पिकमा उनी एथ्लेटिक्सको कोच बनेर जाने पक्का भयो । ओलम्पिक कमिटीले नामपनि पठायो । तर कोभिड जाँच्दा पोजिटिभ आयो । विरामी नै नभएको उनको कोभिड पोजिटिभ आएपछि उनी तीनछक्क परिन् । त्यसपछि उनी फरकरफरक अस्पतालमा जाँच्न गईन् । तर त्यो अस्पतालबाहेक अन्य अस्पतालमा जचाउँदा कोभिड पोजिटिभ आएन । त्यहि बहानामा उनलाई रोकेर अर्कैलाई ओलम्पिकमा पठाइयो । त्यसपछि मात्र षडयन्त्रपूर्ण ढंगबाट रोकेको उनले चाल पाईन् । त्यसपछि भने उनलाई खेलकुदमा फर्किन मन लागेन । तर मन कहाँ मान्थ्यो र रु खेलकुदलाई नै जीवन मानेकी उनी मनले नमान्दानमान्दैपनि खेलकुदमा फर्किईन् ।

त्यस्ता उदाहरणहरु धेरै छन् । पदकको आशा गरेर प्रशिक्षण लिएकी उनले कति पटक त प्रतियोगितामै भाग लिन पाईनन् । तेश्रो साफका लागि उनी वाल्किङ १० किलोमिटरमा प्रथमहुँदै नेपालबाट छनौट भएकी थिईन् । तर दुर्भाग्य भन्नुपर्छ अन्तिम समयमा आएर सो स्पर्धा क्यान्सिल भयो । त्यहि प्रतियोगिताका लागि भनेर झण्डै १० महिना प्रशिक्षण लिएकी उनी सहभागि हुन नपाएपछि निराश भईन् । हुन त उनी १ हजार ५ सय मिटर, ३ हजार र १० हजार मिटरको दौडकी धाविकापनि हुन् । तर अफिसियलले उनलाई सो स्पर्धाका लागि लगेनन् बरु उनको सट्टा मेनुका राउतलाई लगियो । सानो दुरीकी धाविका मेनुकाले त्यसबेला ३ हजार मिटर दौडमा सिल्भर मेडल जितिन् । मेनुका भन्दा कयौं गुणा अब्बल उनी आफू भएको भए त्यसबेला त्यो भन्दा ठूलो मेडल जित्नसक्ने आंकलन गर्दै थकथकाउँछिन् ।

आफ्नो समयकी उम्दा खेलाडी ईन्द्राले कयौं दर्जनौं पदक जितेकी छन् भने राष्ट्रिय रेकर्डहरुपनि कायम गरेकी छन् । चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण पदक जितेकी उनले ३२ औं राष्ट्रिय च्याम्पीयनसीपमापनि प्रथम स्थान हासिल गरिन् । ३० औं राष्ट्रिय च्याम्पीयनसीपमा हाल्फ म्याराथनमा रजन पदक, १० किलोमिटर वाल्किङमा स्वर्ण जितेकी उनले दोश्रो र तेश्रो राष्ट्रिय क्रस कन्ट्री च्याम्पीयनसीपमा गोल्ड मेडल जितेकी छन् । २६ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो स्थान हासिल गरेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी उनले २७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण, २८ औं राष्ट्रिय खेलकुदको १० किलोमिटर वाल्किङमा स्वर्ण र १० किलोमिटर दौडमा रजत पदक जितेकी छन् ।

त्यसबाहेक उनले भारतमा भएको आठौं एसियन ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको १० किलोमिटर वाल्किङमा सातौं, ५१ औं सिंगापुर ओपन च्याम्पीयनसीपको पाँच किलोमिटर वाल्किङमा चौथो, क्यानडामा भएको सेकेण्ड वल्र्ड जुनियर ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको ५ किलोमिटर वाल्किङमा २३ औं स्थान र सिंगापुरमै भएको दोश्रो एयिसन जुनियर ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको ५ किलोमिटर वाल्किङमा चौथो स्थान हासिल गरेकी छन् । त्यस्तै उनले सन १९९५ मा भएको पेप्सी अन्नपूर्ण ट्रायथलन प्रतियोगितामा पहिलो महिला खेलाडीका रुपमा नाम लेखाएकी ईन्द्राले द हिमालयन माउन्टेन बाईक च्याम्पीयनसीपमापनि पहिलो नेपाली खेलाडीका रुपमा नाम दर्ज गराईन् । त्यतिमात्र होईन उनी एभरेस्ट म्याराथनमा दौडिने पहिलो महिला खेलाडीपनि हुन् ।

खेलकुदमा जीवन समर्पित गर्दा विवाहबारे सोंच्नै भुलेकी ईन्द्रा अहिले पोखरा–५ मालेपाटनमा बस्छिन् । खेलकुदसँगै विवाह भयो भन्ने गरेकी ईन्द्रा दैनिक रुपमा ५ बजे उठ्छिन् । उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने उनी अहिलेपनि दैनिक रंगशाला पुग्छिन् । त्यहाँ चेलाचेलीलाई केहिबेर सिकाउँछिन् र आफ्नो फिटनेसका लागिपनि समय खर्चिन्छिन् । फुर्सद मिल्ने वित्तिकै रंगशाला आउने उनी बेलुका ४ बजेदेखि ६ बजेको समयपनि प्रायः रंगशालामै बिताउँछिन् ।

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close