सूर्य नेपाल गल्फ काठमाडौं ओपन : पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा

पोखरा स्पोर्टस । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी शीर्षस्थानमा रहेका छन् ।

उनले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १-ओभर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो स्थान बाँडे । २-ओभर ७० को नतिजामा पुर्ण प्रसाद शर्मा, धन बहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतिले संयुक्तरुपमा पाँचौं स्थान बाँडे । पशुपति शर्मा ३-ओभर ७१ को स्कोरमा दशौं स्थानमा रहेका छन् ।

पहिलो दिन शीर्षस्थानमा रहेका भुवन नगरकोटीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए । दिनको सुरूवात बर्डीबाट गरे। पहिलो होलमा बोगी प्रहार गरेपनि दोस्रो, तेस्रो र नवौं होलमा बर्डीको सामना गरे । ब्याक नाइनमा भने उनी सम्हालिए । १०औं, ११ औं र १५औं होलमा एक/एक सट बचाए भने १७औं होलको बोगीले ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे ।  इभन-पार ६८ नै पहिलो दिनको उत्कृष्ट स्कोर कार्ड बन्यो ।

रविले सुरूवात खराब गरे । दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बोगी खेल्दै फ्रन्ट नाइन ४-ओभर ३८ मा सकाए। यसपछि भने खेलमा सुधार ल्याए । १२औं, १३औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे र ब्याक नाइन ३-अन्डर ३१ पुरा गरे ।

भुवन रोक्काले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए । पहिलो र तेस्रो होलमा बोगी प्रहार गरे भने दोस्रो, चौथो र पाँचौ होलमा एक(एक सट बचाए । सातौं होलमा भने डबल बोगीको सामना गरे । यसपछि उनले ब्याक नाइनको सबै ९ होलमा नै पार जोगाए ।

निरजले दोस्रो होलमा बर्डी प्रहार गरे भने ५-पारको चौथो होलमा ईगलको सफलता प्राप्त गरे । तर तेस्रो र नवौं होलमा एक-एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए । यसपछि ११औं होलमा डबल बोगी खेपे भने १३औं होलमा एक सट खेर फाले । १६औं होलको बर्डीले ब्याक नाइन २-ओभर ३६ मा पुरा गरे ।

एमेच्योरतर्फ टासी छिरिङ र सदभाव आचार्य संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन । उनीहरूले ४-ओभर ७२ मा पहिलो दिनको खेल सकाए । ८-ओभर ७६ को स्कोरमा निल कुमार थापा र भरत थापा मगरले संयुक्तरुपमा तेस्रो स्थानमा बाँडे । सुर्य नेपाल गल्फ टुरमा डेब्यु गरेका सुबाश तामाङले पहिलो दिन ४-ओभर ७२ को प्रदर्शन गरे। उनी समग्रमा एमेच्योरद्वय टासी र सदभावसँग संयुक्तरुपमा ११औं स्थानमा रहेका छन् ।

चार दिने प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन। टप २१ मा पर्ने खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन। ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन। यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close