राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राखेपले थाल्यो निर्देशिका संसोधनको तयारी

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न निर्देशिका संसोधनको तयारी सुरु गरेको छ ।  राखेपले बुधबार एक छलफल कार्यक्रमको आयोजना गरी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न निर्देशिका संसोधनको तयारी सुरु गरेको हो । 

राखेपका सदस्य सचिव टंकलाल घिसिङसहित विभिन्न प्रदेशका खेलकुद परिषदका सदस्य सचिबहरु, राजधानीमा उपलव्ध राखेपका सदस्यहरु,, राखेपका कर्मचारीहरु संग बुधबार छलफल गरी राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को निर्देशिका संसोधनका तयारीमा जुटेका छन् ।

आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप गम्भिर छलफल भएको बैठकमा सहभागि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । उनले निर्देशिकाको संसोधनका लागि प्रारम्भिक छलफल भई सुझाव समेत संकलन गरिएको जानकारी दिए ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय टोली गरी १० टिमको सहभागिता हुने भएको पोखरा स्पोर्टसलाई बताएका छन् । प्रतियोगितामा गैर आवाशिय नेपाली संघ (एनआरएनए) टिमको सहभागिता नहुने भएको छ ।

त्यसै गरी राष्ट्रिय पारा खेलकुद, बृहत  राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको लगतै १५ दिन पछि आयोजना गर्ने गरी निर्देशिकामा संसोधन गर्न लागिएको सदस्य सचिब शर्माले बताए । उनले भने–“अन्तर्राष्ट्रिय मान्यता अनरुप जे प्रावधान छ । नेपालमा समेत सोहीलाई अंगिकार गर्ने गरी हामीले सुझाव पेश गरेका छौं ।” पारा राष्ट्रिय खेलकुदका लागि छुट्टै निर्देशिका बनाएर वा परिच्छेदमा थप अघि बढ्ने विषयमा समेत बैठकमा छलफल भएको छ ।

त्यसै गरी राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन हरेक खेल संघले राष्ट्रिय मान्यता अनिवार्य रहनु पर्ने छलफलको क्रममा उठेको छ । राष्ट्रिय खेल संघले मान्यता पाउन अनिवार्य चार प्रदेशमा खेल संघ हुनुपर्ने छ भने प्रदेश खेल संघले मान्यता पाउन अनिवार्य ५ जिल्लामा दर्ता र नविकरण रहेको हुनुपर्ने छ ।

त्यस्तै प्रदेशस्तरीय प्रतियोगितामा ५ जिल्ला सहभागि नभएमा उक्त प्रादेशिक खेल संघले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । यदि राष्ट्रिय प्रतियोगितामा कुनै पनि खेलको चार प्रदेश खेल संघ सहभागि नभएमा उक्त खेललाई राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउन नपाउने गरी निर्देशिका संसोधन गर्न प्रारम्भिक छलफल भएको सदस्य सचिब शर्माले जनाएका छन् ।

त्यसै गरी हरेक खेलका जिल्ला र प्रादेशिक रेफ्रिहरुलाई समावेशीका आधारमा राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउने संगै सबै रेफ्रिहरु आ–आफ्ना खेल संघमार्फत अनिवार्य लाइसेन्स लिनुपर्ने प्रावधान लाई समेत अघि बढाइने भएको छ । सबै रेफ्रिहरुको राखेपले खेल संघमार्फत अभिलेखीकरण र सूचिकरण गर्नका लागि समेत बैठकले सुझाव दिएको छ । तर विशेष खेलकुदको हकमा च्याम्पियनसिप गर्ने तयारी छलफमा भएको सदस्य सचिव शर्माले बताए ।

बैठकमा खेलाडी छनोट, प्रदेश टिम तयारी, खेल तथा खेलाडी संख्या, ट्रफी टुर, अनलाइन खेलाडी दर्ता फारम, खेल पोशाक, किट्स ब्याग, खेलाडी बिमा, मेडिकल टिम, बसोवास, स्थानिय यातायात, खेलस्थल, खेल सामाग्री, खेल सञ्चालन सम्बन्धमा छलफल भएको थियो ।

 त्रिपुरेश्वरस्थित राखेपमा भएको बैठकमा प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव हंशराज वाग्ले, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक सिंह, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्याललगायतको सहभागिता रहेको थियो ।  

यसै बीच प्रदेश खेलकुद परिषदका सदस्य सचिव शर्माले यूवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ संग भेट गरी गण्डकी प्रदेशका विभिन्न जिल्लामा विगतमा राष्ट्रिय खेलकुद परिषदबाट रकम विनियोजित भइ निर्माण कार्य सुरु भएका तर सम्पन्न नभएका अधुरा खेलकुद संरचनाहरुका लागि क्रमागत रुपमा बजेट विनियोजन गर्न आग्रह गरेका छन् । उनले प्रदेशमा नयाँ अत्यावश्यक स्विमिङ पुल, पोखरा रंगशाला मर्मत सम्भार, प्रादेशिक क्रिकेट रंगशाला, सुटिङ हललगायत खेलकुदका नयाँ संरचना निर्माणका लागि कार्य सुरु गर्न समेत मन्त्री श्रेष्ठलाई आग्रह गरेका छन् ।

उनले प्रदेश भित्र सञ्चालन हुने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुका लागि समेत बजेट विनियोजन गरी खेलकुद मार्फत पर्यटन प्रवर्द्धन र खेल विकासका लागि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close