केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड : गण्डकीका गणेशको राष्ट्रिय कीर्तिमान

पोखरा स्पोर्टस । नेपाली खेलकुदको जगलाई बलियो बनाउने नेपालको खेलकुदको एक मात्र प्रतियोगिता हो ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा हुने उक्त प्रतियोगिताको १४ औं संस्करणमा आइपुगेको छ ।

१४औं संस्करणको पहिलो दिन एथलेटिक्सतर्फ हाइजम्पमा कीर्तिमान भङ्ग भएको छ । कीर्तिमान भङ्ग गर्ने खेलाडी हुन् गण्डकीका गणेश विक । राष्ट्रिय कीर्तिमान स्थापित गरेका गणेशले गणेशले १.८१ मिटर जम्प गरे । उनले २०७५ सालमा भएको राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीका प्रभु थारुले बनाएको १.७७ मिटरको कीर्तिमान भंग गरेका हुन् ।

सोही स्पर्धामा बागमती प्रदेशका अविनास सुनार (१.७५ मिटर) दोश्रो तथा लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा (१.७० मिटर) तेश्रो भए । सो स्पर्धाको छात्रामा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी (१.४१ मिटर) पहिलो, गण्डकीकी सिमा श्रेष्ठ (१.३८ मिटर) दोश्रो तथा लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा (१.३० मिटर) तेश्रो भए ।

गणेशले कृतिमान भङ्ग गरे संगै नगद पुरस्कार समेत प्राप्त गर्नेछन् ।

को हुन् गणेश विक ?
कीर्तिमानधारी गणेश लमजुङ सुन्दबजार नगर पालिकाका हुन् । सून्दरवजार नपा २ परेवाडाडाका स्थायी बासिन्दा उनी आश वहादुर विक र आमा आरती विकका कान्छा छोरा हुन् । चार दाजुभाई मध्ये कान्छो रहेका उनी सुन्दर बजार वडा नं ५ स्थित विद्याज्योती माविमा कक्षा १२ मा अध्ययनरत छन् ।

कीर्तिमान भङ्ग गरेका गणेशको खेल उत्कृष्ट रहेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । उनले भने–“म त्यती बेला दशरथ रंगशालामा नै थिंए । प्रतियोगिता चलिरहँदा कीर्तिमान भङ्ग गर्दाको क्षण हाम्रो लागि गौरवको क्षण रह्यो । मैले उनलाई बधाई दिएको छु । उनको खेल जिवनको भविष्य उज्जवल छ । उनलाई हामीले चाँडै नै अन्तर्राष्ट्रिय ऐरिनामा देख्ने छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close