पोखरामा सिइसी काठमाडौं र कास्की एकेडेमी बीच मैत्रीपूर्ण जुनियर क्रिकेट सिरिज सुरु

पोखरा स्पोर्टस । पोखरामा क्रिकेट एक्सिलेन्स सेन्टर, काठमाण्डौ र कास्की जिल्ला क्रिकेट संघ द्वारा सञ्चालित सेन्टर क्रिकेट एकेडेमीका बीच मैत्रीपूर्ण यू–१४ जुनियर टि–२० सिरिज सुरु भएको छ ।

कास्की जिल्ला क्रिकेट संघको समन्वय तथा क्रिकेट एक्सिलेन्स सेन्टर, काठमाण्डौको आयोजनामा पोखरा रंगशाला क्रिकेट रंगशालामा उक्त सिरिज सुरु भएको हो । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार सिरिज अन्तर्गत ६ वटा टि–२० र तीन  एक दिवशीय प्रतियोगिताहरु खेलाइने छ ।

खेलको पहिलो दिन दुई खेल सम्पन्न भएका छन् । दुवै टोलीले १–१ खेल जित्दै बराबरीमा पहिलो दिनको खेल सकिएको छ । एक खेलमा कास्कीले सिइसी विरुद्ध ३३ रनले जित हासिल गर्दा दोस्रो खेल भने सिइसीले ६ विकेटले जित हात पारेको छ ।

पहिलो खेलमा कास्की क्रिकेट एकेडेमीका सुमन अधिकरी म्यान अफ दि म्याच भए । उनले ४ विकेट हात पारेका थिए । त्यस लगतै भएको दोस्रो खेलमा ४८ रनको नट आउट पारी खेलेका सूर्य थापा म्यान अफ दि म्याच बन्न सफल भए ।

विशेष गरी परिक्षा सकेर बिदामा बसेका १४ वर्ष मुनीका यूवाहरुलाई लक्षित गर्दै कास्की क्रिकेटले सुरु गरेको छ । कास्कीले प्रशिक्षणरत २० जना खेलाडीलाई सिइसी संग मैत्रीपूर्ण सिरिजमा उतारेको अध्यक्ष सिग्देलले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

नेपाली राष्ट्रिय खेलाडीहरु द्वारा सञ्चालित सिइसी एकेडेमीमा प्रशिक्षणरत यूवा खेलाडीहरुले पोखराको सिरिजले नेपाली यूवा खेलाडी उत्पादन संगै स्थानिय यूवाहरुलाई समेत क्रिकेटमा आकर्षण गर्न सहयोग पुग्ने एकेडेमीका निर्देशक छुम्बी लामाले बताए । उनले भने–“हामी देशभरी नै टुर गरी रहेका हुन्छौं । तर पोखरा हाम्रो लागि विशेष हो । पोखरेली यूवाहरुमा क्रिकेटको उत्कृष्ट माहोल बनेको छ । सिइसीमा प्रशिक्षणरत यूवाहरुले समेत यहाँबाट नयाँ कुरा सिक्ने अवसर पाउनेछन् ।”

उक्त सिरिजको एक कार्यक्रमका बीच कास्की क्रिकेट संघका अध्यक्ष सिग्देलले शुभारम्भ गरेका थिए । सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका कार्यकारी सदस्य ऋषि राम गौतम, जिल्ला खेलकुदका कार्यलय प्रमुख सुन बहादुर लामा, सिइसीका निर्देशक लामाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close