‘खेल्छ गण्डकी’ कार्यक्रममार्फत सहारा एकेडेमीमा जुनियर फुटबल प्रशिक्षण सुरु

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘सूर्य बहादुर केसी मेमोरियल सहारा एकेडेमी’ पोखरा १७ मा यू–१४ जुनियर फुटबल प्रशिक्षण सुरु भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा सुरु भएको १० दिने प्रशिक्षणको परिषदका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै सदस्य सचिव शर्माले सहारा क्लबले नेपाली फुटबलको विकासमा योगदान महत्वपूर्ण रहेको बताउँदै राज्यले समेत सहकार्य गर्नुपर्छ भनेर नै परिषदले सहकार्यको हात अघि बढाएको बताए । उनले भने–“सहाराको योगदानका कारण थोरै भए पनि पाइलट प्रोजेक्टको रुपमा भूमिका देखाउन पर्छ भन्ने उद्धेश्यका साथ सहकार्य गरेका हौं । यसमा क्लबको मात्रै स्वार्थ होइन । यसमा परिषदको समेत स्वार्थ लुकेको छ । हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पदान गर्ने अभियानमा छौं ।”

यति बेला नेपाली फुटबलमा खेलाडी पलायनले समस्या आइरहेको उल्लेख गर्दै सदस्य सचिब शर्माले खेलकुदको संस्कार र संस्कृतिको विकास गर्नुपर्छ भन्ने उद्धेश्यका साथ खेल्छ गण्डकी कार्यक्रम मार्फत विपन्न बर्गका बालबालिका लक्षितहरुलाई अघि बढाएको उल्लेख गर्दै भने–“यो कार्यक्रमले फुटबलको विकासमा महत्वपूर्ण योगदान गर्न सक्छ । यो क्लबका लागि समेत मौका हो । यो साझेदारीले कमजोर अवस्थामा रहेको नेपाली फुटबललाई माथी उठाउन भूमिका खेल्नेछ ।”

नेपाली खेलकुदको विकासका लागि संस्थागत सुधार आवश्यक रहेको जनाउँदै सदस्य सचिव शर्माले खेलकुदलाई मायाँ गर्ने सहयोगी मनहरुले गरेको सहकार्यलाई अभिलेखीकरण गर्दै अघि बढ्नुपर्ने औंल्याए । उनले भने–“यहाँका विभिन्न खेलकुद कार्यक्रमहरु सफल बनाउन सहयोगी मनहरुको ठूलो योगदान छ । खेलकुदमा भएको ठूलो लगानी मात्रै होइन सहयोगीहरुको समेत अझै मन फुकाउन आवश्यक छ । उहाँहरुले गरेको सहयोगलाई पारदर्शी बनाउँदै संस्थागत जवाफदेहीता र संस्थागत सुधार गर्न समेत हामीले अभियानका रुपमा अघि बढेका छौं ।”

परिषदले प्रदेशका सबै खेल मैदानहरुको अभिलेखीकरण गरिसकेको जनाउँदै प्रदेशमा दुई वटा प्रदेशस्तरीय क्रिकेट रंगशालाको निर्माण र पोखरा २९ मा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने योजनामा रहेको सदस्य सचिव शर्माले बताए । प्रदेशको खेलकुदको विकासका लागि परिषदले विभिन्न योजनाहरु अघि सारेको जनाउँदै खेलकुदमा फजुल खर्च रोक्ने देखि लिएर खेलकुदलाई वातावरणमैत्री बनाउने, स्थानिय उत्पदान र सामाग्रीहरुको प्रयोगमा जोड दिने संगै खेलाडी, प्रशिक्षक र अग्रज खेलाडीहरुको सम्मानका लागि समेत विभिन्न योजनाहरु अघि सारेको उनले बताए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बसन्त थकालीले परिषदको सहकार्यले यस क्षेत्रमा यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताउँदै खुसी व्यक्त गरे ।

क्लबका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका बरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङ, सचिव टंक पौडेलले आफ्ना भनाई राखेका थिए ।

खेल्छ गण्डकी कार्यक्रममार्फत आावशिय सुविधासहित सुरु भएको उक्त फुटबल प्रशिक्षणमा कास्की, पर्वत, म्याग्दी, नवलपुर, तनहुँ, गोरखा, लमजुङ र बागलुङ जिल्लामा १४ वर्ष मुनीका ३० जना बालकहरु सहभागि छन् । उनीहरुलाई क्लबका प्रशिक्षक सुनिल राना मगरले प्रशिक्षण दिनेछन् ।

हाल सहारा एकेडेमीमा प्रशिक्षणरत १४ जना विपन्न तथा कठिन परिस्थितीका बालकहरु समेत प्रशिक्षणरत छन् । यो वर्षबाट उनीहरुको संख्या ३० पुर्याउन क्लबले भर्नाका लागि आह्वान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close