गण्डकीका बलर अमृत गुरुङ चम्किंदा गण्डकी टिम च्याम्पियन

पोखरा स्पोर्टस । सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीको पुरुष क्रिकेट टिम च्याम्पियन भएको छ ।

मधेश प्रदेश विरुद्ध फाइनल खेलमा गण्डकीका बलर अमृत गुरुङ चम्किंदा गण्डकी जारी प्रतियोगितामा टिम च्याम्पियन भएको हो । मधेश प्रदेश १८.१ ओभरमा १६० रन बनाउँदै अल आउट हुन पुग्यो । फाइनलमा मधेशलाई ४१ रनले पराजित गर्दै गण्डकी टिम च्याम्पियन भएको हो । टिम च्याम्पियन भए संगै गण्डकीले स्वर्ण पदक हात पारेको छ भने मधेश प्रदेशले रजत पदक प्राप्त गरेको छ ।

गण्डकीले दिएको २०२ रनको लक्ष्य भेटेटाउन मैदान उत्रिएको मधेशलाई गण्डकीका बलर अमृत गुरुङको बलिङ सामु टिक्न सकेनन् । आजै आफ्नो जन्म दिन समेत मनाइरहेका मिडियम पेश बलर अमृतले ३.१ ओभरको वलिङ स्पेलमा १८ रन दिंदै ६ जना खेलाडी पेभिलियन फर्काए ।

अमृतको बलमा पहिलो शिकार मधेशमा विशाल सुस्लिङ बने । १८ बलमा २७ रन बनाएका विशाललाई कमल परियारको हातबाट क्याच आउट गराउँदै पेभिलियन फर्काए । अमृतको दोस्रो ओभर भने अझै उत्तकृष्ट रह्यो । उनले दोस्रो ओभरमा तीन–तीन जना खेलाडी आउट गरे । अमृतको बलमा रुपेश सिंह कमलकै हातबाट आउट भए । उनले २० बलमा १६ रन जोडेका थिए ।

त्यस लगतै अर्का मधेशका व्याटर अरनिको यादवलाई उनको व्यक्तिगत १३ रनमा आउट गरे भने दोस्रो ओभरको पाँचौ बलमा अभिषेक तिवारी (१४) लाई आउट गर्दै आफ्नो विकेट संख्या ४ पुर्याए भने छैटौं बलमा विशाल पटेललाई सून्य रनमा आउट गर्दै मधेशलाई रन जोड्ने कुनै मौका नै दिएनन् भने विकेट संख्या ५ पुर्याए ।

अमृतले आफ्नो तेस्रो ओभरको पहिलो बलमा नै राजेश यादव (१०)लाई सुवास भण्डारीको हातबाट क्याच गराउँदै आफ्नो विकेट संख्या ६ पुर्याए ।

गण्डकीका लागि अंकित न्यौपानेले २ ओभरमा ३२ रन खर्चिदैं २ विकेट हात पार्दा कमल परियारले ४ ओभरमा ४१ रन दिएर १ र सुभाष भण्डारीले ४ ओभरमा ३१ रन दिएर १ विकेट लिए ।

मधेशका लागि पवन सरार्फले १४ बलमा ३५ बनाए भने विशाल सुस्लिङले २७ र मयन यादवले १९ रन बनाए ।

यस अघि टस हारेर इनिङको सुरुवात गरेको गण्डकीका लागि पहिलो विकेटका लागि इश्वर क्षेत्री र अर्जुन कुमालको जोडीले जम्मा १८ रन बनाउँदा गण्डकीका इश्वर ५ बलमा १० रन बनाउँदै पेभिलियन फर्किएका थिए ।

तर तेस्रो विकेटका लागि मैदान आएका दिपक डुम्रे र अर्जुनको पार्टनरशिपमा २१ बलमा ४२ रन बनाए । विशाल पटेलको बलमा अर्जुन १२ बलमा १५ रनको योगदान दिंदै आउट भए । तर चौथो विकेट भने गण्डकीको खासै जम्न सकेन । १३ बलमा २ छक्का र ३ चौका प्रहार गरेका दिपक विशालकै बलमा वोल्ड हुन पुगे ।

पाँचौ विकेट भने गण्डकीका लागि उत्कृष्ट बन्यो । दिनेश बुढा मगर र करन पगेनीले ३९ बलको सामना गर्दै ४९ रनको साझेदारी गरे । २४ बलको सामना गरेका दिनेश ३ छक्का र १ चौका प्रहार गर्दै ३३ रनमा रन्जीत कुमारको बलमा बोल्ड हुन पुगे । त्यसपछि आएका अर्का व्याट्म्यान विपिन खत्री क्रिजमा लामो समय टिकेनन उनले ८ बलको सामना गर्दा १ रन बनाउँदै विशाल पटेलको वलमा बोल्ड भए ।

सातौं विकेटका लागि करन र सन्दिप खत्रीले भने मधेशका बलरहरुको राम्रै धुलाई गरे । दुवै जोडीले १५ बलको सामना गर्दा ४१ रनको साझेदारी गरे । सन्दिपले १५ बलको सामना गर्दा ४ छक्का र ५ चौकाको मद्धतमा ४७ रनको व्यक्तिगत योगदान दिए । उनलाई राजेश पटेलले आउट गरे । ३२ बलको सामना गरेका करन समेत ३ चौका र ३ छक्का प्रहार गर्दै ४३ रनमा रुपेश सिंहको बलमा अरनिको यादवको हातमा क्याच आउट भए ।

गण्डकीका लागि अमृत गुरुङ नट आउट ९ र अंकित न्यौपानेले १ रन बनाउँदा कमल परियार भने रुपेश सिंहको गोल्डन डकआउट हुन पुगे ।

यो जित संगै गण्डकीको स्वर्ण पदकको संख्या ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close