अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा पोखरामा गोष्ठि हुँदै

पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा पोखरामा एक गोष्ठि हुने भएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले यहि चैत्र २२ गते उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । अप्रिल ६ तारिखलाई अन्तर्राष्ट्रिय खेलकुद दिवसका रुपमा विश्वमा नै मनाइदै आएको छ ।

‘विकास र शान्तीको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस’ लाई मञ्चले सन २०१४ बाट विभिन्न कार्यक्रमहरु गरी मनाउँदै आएको सन्दर्भमा यस वर्ष गोष्ठि आयोजना गरिएको निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले बताए । उनले भने–“हामी खेलकर्मीहरुको छाता संस्था समेत भएकोले समाजमा अन्तर्राष्ट्रिय खेलकुद दिवसका बारेमा सचेतना जगाउन आवश्यक छ । खेलकुदमा यो दिवसको महत्व रहेकोले विश्वमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमहरु मनाइने प्रचलन छ ।”

उक्त कार्यक्रममा सहभागिता जनाउन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पूर्व मन्त्री जिवनराम श्रेष्ठ पोखरा आउने तयारी रहेको मञ्चका कार्यबहाक अध्यक्ष दिल बहादुर गुरुङले जनाए । “नेपाल ओलम्पिक कमिटिका अध्यक्षज्यू प्रमुख वक्ताको रुपमा रहनु हुनेछ”, कावा अध्यक्ष गुरुङले भने–“यस संगै खेलाडी, सामाजिक संघ–संस्था, व्यवसायी, कृयाशिल खेलकुद संस्थाहरु, प्रशासनिक तथा सुरक्षा निकायका व्यक्तिहरु कार्यक्रममा सहभागिता जनाउने तय भएको छ ।”

कार्यक्रमको तयारी करिव पुरा भएको जनाउँदै उक्त कार्यक्रमले नेपाली खेलकुदको वर्तमान अवस्था र समस्याका बारेमा समेत चर्चा हुने कावा अध्यक्ष गुरुङले जनाए । उनले भने–“हामी दिवस मनाउने तयारीमा छौं । पक्कै पनि यो कार्यक्रमको छलफलले नेपाली खेलकुदको वर्तमान अवस्था र समस्याका बारे संगै निकासका लागि समेत हामी सामुहिक छलफलमा जुट्ने छौं ।”

कार्यक्रम पोखरा उद्योग बाणिज्य संघको अमृत सभाकक्षमा हुने मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close