विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबलको उपाधि एपिएफ र सुदुरपश्चिमले जिते

पोखरा स्पोर्टस । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल-२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ क्लब र महिलातर्फ सुदुरपश्चिम प्रदेशले हात पारेका छन् ।

समापनका अबसरमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ मन्त्री शुसिला सिम्खडाले सरकारले अपाङता खेलकुद क्षेत्रको विकासका लागि आगामी बजेटमा बजेट बढाउने बताउँदै प्रतियोगिताले सबैको मन जित्न सफल भएको बताउँदै प्रशंसा गरेकी थिइन् ।

सो अवसरमा बोल्दै मन्त्री सिम्खडाले यस प्रकारको प्रतियोगिता आफूले पहिलो पटक प्रत्यक्ष रुपमा देखेको बताउँदै अपाङता भएकाहरु ह्वीलचियरमा बास्केटबल खेल्नु निकै प्रशंसनिय रहेको बताइन । उनले भनिन्–“यो प्रतियोगिताका लागि यहाँहरु मन्त्रालय आउनु भयो । तर हामी संगको सिमित श्रोतका कारण केही सहयोग गर्न सकेनौं तर अर्को वर्ष हामी यहाँहरुलाई सम्माजनक रुपमा सम्वोधन गर्नेछौं ।” 

सुन्दर ढोका साथि सेवाको मुख्य आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपाधि उचालेको हो । फाइनलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबले पछिल्ला तीन क्वार्टरमा एपिएफमाथी फराकिलो अंकका साथ अघि रहे पनि अन्तिम क्वार्टरमा एपिएफ आर्मी माथी हावी हुँदै झिनो अंकले उपाधि उचाल्न सफल भयो ।

त्यस्तै पुरुषतर्फनै बागमतीले लुम्बीनी प्रदेशलाई २७–६ अंकले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको छ ।

त्यसैगरी महिलातर्फ प्रतियोगिताको फाइनलमा सुदुरपश्चिम प्रदेशले लुम्बीनी प्रदेशलाई ८–४ अंकले पराजित गर्दै उपाधि जितेको छ । साथै कोशी प्रदेशले बागमती प्रदेशलाई १६–४ को फराकिलो अन्तरले हराउँदै तेस्रो स्थान पक्का गर्न सफल भएको हो ।

प्रतियोगितामा पुरुष र महिलातर्फका उपाधि बिजेता, उपबिजेता तथा तेश्रो हुने टिमले क्रमशः नगद रु ५०, ४० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

दुई दिन देखि जारी प्रतियोगितामा एपिएफ क्लबका प्रेम बहादुर बिक १७ स्कोर गर्दै हाई स्कोरर् बन्न सफल भए भने एपिएफकै डम्बर बहादुर मगर मस्ट भेलुएबल प्लेयर घोषित भए । त्यस्तै महिलातर्फ सुदुर पश्चिमकी तुलसा थापा हाई स्कोररको उपाधि जित्दा मस्ट भेलुएबल प्लेयरको उपाधि सोही प्रदेशकी एश्वेर्या कुमारी कुमाल घोषित भइन् । उनीहरुले ट्रफीका साथमा जनही नगद रु ५–५ हजार हात पारे ।

त्यस्तै गण्डकी प्रदेशका खेलाडी पिताम्बर थापा खेलको इर्मजीङ प्लेयर घोषित हुँदै ट्रफीका साथमा नगद रु ३ हजार हात पारे ।

बिजेता खेलाडी तथा टिमहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, परिषदका सदस्य केशव पाठक, प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष कोष बिलाश अधिकारी, संस्थाकी कार्यकारी निर्देशक बिजेता अधिकारीलगायतले नगद, ट्रफी तथा मेडल वितरण गरेका थिए ।

पोखरा रंगशालास्थित बास्केटबल कोर्ट र रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा सञ्चालन भएको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुषतर्फ ९  र महिलातर्फ ६ टिम गरी १५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close