पोखरामा ह्रिवलचियर बास्केटबल प्रतियोगिता सुरु, ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि जग्गा खोज्दै छौं’–मुख्यमन्त्री पाण्डे

पोखरा स्पोर्टस । पोखरामा आइतबारदेखी ह्रिवलचियर बास्केटबल प्रतियोगिता सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशको टोलीले दुई खेलमा जित हासिल गरेको छ ।

गण्डकीको पुरुष टोलीले कोशी प्रदेश र विभागिय टोली सशस्त्रप्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको हो । गण्डकीले आफ्नो पहिलो खेलमा कोशीलाई १५–११ को स्कोरले जित निकाल्दा दोश्रो खेलमा एपिएफ क्लब माथी २०–१६ ले सनसनीपूर्ण जित निकालेको हो ।

त्यस्तै आज सम्पन्न पुरुषतर्फ नै लुम्बिनीले कर्णालीलाई १०–६ को स्कोरले पराजित गर्दा दोश्रो खेलमा लुम्बिनी प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १८–१४ ले पाखा लगायो । तर एक अर्को खेलमा सुपले मधेश प्रदेश माथी १८–२ को शानदार जित दर्ता गर्न सफल भएको छ ।

त्यसै गरी विभागिय टोली नेपाल आर्मी क्लबले एकमा जित र एक खेलमा हारको सामना गरेको छ । आर्मीलाई एपिएफ क्लबले २५–२० ले पराजित गर्दा कोशी प्रदेश माथी ३४–४ ले पराजित गरेको छ । त्यस्तै बागमतीले मधेश प्रदेशलाई २८–० ले कर्णालीलाई २४–६ ले पराजित गरेको छ ।

यता महिलातर्फ भने सुदुर पश्चिम र लुम्बिनी प्रदेशले उपाधि भिडन्तका लागि स्थान पक्का गरेका छन् । आइतबार सम्पन्न खेलमा सुपले बागमतीलाई १०–६ को स्कोरले पराजित गरी लुम्बिनी संग भिडन्त पक्का गरेको हो । लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १३–६ ले पराजित गरेको छ । तेश्रो स्थानका लागि बागमती र कोशीले एक अर्काको सामना गर्नेछन् ।

यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेको जनाउँदै अन्तर्राष्ट्रिस्तरको क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले जग्गाको खोजी गरिरहेको बताए ।

उद्घाटनको क्रममा मुख्यमन्त्री पाण्डेले शारीरिक रुपमा अपांगता भएका व्यक्तिले पनि आत्मबल र आत्मविश्वासले सफलता हाँसिल गर्न सक्ने उल्लेख गरे । नेपालका युवा केही गर्न सकिँदैन भनेर निरुत्साहित भएर हिँडिरहेको अवस्थामा ह्विलचियरमा सहभागी खेलाडीबाट धेरै सिक्नुपर्ने उनले बताए । गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउँदै सरकारले ओलम्पियनहरुको सम्मानका लागि मासिक भत्ताको सुविधा समेत प्रदान गरेको उनको भनाई थियो ।

सो अवसरमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले प्रदेश खेलकुदले अपाङता खेलकुदमा विगत तीन वर्ष निरन्तर प्रतियोगिता सञ्चालन गर्दै आइरहेको बताए । उनले यस प्रकारका प्रतियोगिताले अपाङता भएका व्यक्तिहरुलाई नेपाली खेलकुदको मुल धरोहरमा समेट्न महत्वपूर्ण हुने उल्लेख गरे ।

राष्ट्रिय विकास शिल्ड ह्विलचियर प्रतियोगितामा दुई विभागीयसहित १५ टोली सहभागी छन् । प्रतियोगितामा ६ वटा महिला टिम र ९ वटा पुरुष सहभागी छन् । प्रतियोगिता रंगशालास्थित बास्केटबल कोर्ट र रामघाट पुन समाजको कोर्टमा संचालन भइरहेको छ ।

प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषतर्फबाट क्रमशः प्रथम, द्धतिय र तृतिय हुने टोलीले क्रमश नगद रु ५०, ४० र ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगितामा उत्कृष्ट खेलाडी र (हाई स्कोरर)लाई नगद रु ५ हजारसहित ट्रफी प्रदान गरिनेछ । साथै, अन्य सहभागी टिमलाई सान्त्वना पुरस्कारसहित सहभागीताको प्रमाणपत्र प्रदान गरिने कार्यक्रम ब्यवस्थापक हिमाल अर्यालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close