पोखरा महानगरस्तरीय स्क्वास प्रतियोगिता फागुन १८ र १९ गते हुने

पोखरा स्पोर्टस । यहि फागुन १८ र १९ गते पोखरा रंगशालास्थित स्कवास कोर्टमा तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिता–२०८० हुने भएको छ । 

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास र्‍याकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा दुई दिन प्रतियोगिता हुने भएको हो ।

स्क्वास  र्‍याकेट एसोसिएसन, कास्कीसँग छलफलपछि चार वटा विधामा प्रतियोगिता हुने तय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । खुला, महिला, ४५ माथि भेट्रान्स र प्रारम्भकर्ता (बिगिनर) गरेर चार विधामा प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगिता पोखरा रंगशालास्थित स्क्वास कोर्टमा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८ हजार र ४ हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तृतीय हुने दुई जनाले २/२ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

इच्छुक खेलाडीले पोखरा रंगशालास्थित कोर्टमा गएर वा स्क्वास  र्‍याकेट एसोसिएसन कास्कीको फेसबुक पेजमा लिंकमार्फत नाम दर्ता गर्न सकिने एसोसिएसन कास्की अध्यक्ष प्रवीण पालिखेले जानकारी दिए । आगामी १६ फागुनसम्म फारम भर्न सकिने छ ।

प्रतियोगितामा चार वटा विधामा ७० जना खेलाडी सहभागी हुने अनुमान छ ।

के हो स्क्वास ?
स्क्वास इन्डोर गेम हो । यसमा  र्‍याकेटको सहायताले रबर बललाई अगाडिको भित्तामा हानिन्छ । शारीरिक सक्रियता बढी हुने भएकाले यो खेल २० मिनेट खेल्नु र एक घण्टा दौडनु बराबर भएको मानिन्छ ।

सन् १९७७ मा बत्तीसपुतली स्क्वास क्लबको स्थापना भएपछि नै नेपालमा यो खेल भित्रिएको थियो । बेलायतका आर्टिटेक्चर जोन स्यान्डीसँग मिलेर मुरारीशमशेर राणाले यो खेल नेपाल भित्र्याएका थिए । सन् १९८८ मा नेपाल स्क्वास तथा  र्‍याकेट संघ राखेपमा दर्ता भएको थियो । राखेपबाट राष्ट्रिय संघको मान्यता पाए पनि स्थापना भएको ३४ वर्ष बित्दा समेत यो खेल नेपालमा अन्य  र्‍याकेट खेलसरह स्थापित हुन सकेको छैन ।

पोखरामा पनि स्क्वास खेल्न रंगशालाभित्र दुई वटा कोर्ट छन् । यो खेललाई चिनाउन प्रतियोगितापछि विद्यार्थीसम्म पुग्ने र खेलाडी उत्पादनमा जोड दिने अध्यक्ष पालिखेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close