एमएम कप राष्ट्रिय यू–१६ क्रिकेटमा मधेश प्रदेश बन्यो च्याम्पियन

पोखरा स्पोर्टस । पोखरामा शनिबार सम्पन्न तेश्रो मनमोहन कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगितामा मधेश प्रदेश च्याम्पियन बनेको छ ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरद्वारा आयोजित प्रतियोगितामा मधेशले सुदुर पश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । च्याम्पियन भए संगै मधेशले नगद १ लाखका साथमा ट्रफी हात पारेको छ भने उपविजेता सुदुर पश्चिमले नगद ५० हजारका साथमा ट्रफी प्राप्त गर्यो । मधेश प्रदेशले एमएम कपको पहिलो संस्करणमा समेत जित हात पारेको थियो । मधेश प्रदेश दोश्रो पटक च्याम्पियन बनेको हो ।

फाइनलमा टस जितेर व्याटिङ रोजेको सुदुर पश्चिमलाई मधेशका बलर धिरेन्द्र पासवानले ४ र रोहन यादवले ३ विकेट लिंदा २०.२ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनमा समेटियो । सुदुर पश्चिमका लागि विशाल विष्टले २४, निराजन गौतमले १८ र सचिन साउदले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । मधेशका टिम क्याप्टेन चन्दन राम, मेराज आलम र वासिम अली मन्सुरीले समान १–१ विकेट हात पारे ।

यता जवाफी व्याटिङमा उत्रिएको २०.४ ओभरमा ५ विकेट गुमाउँदै ८८ रन बनाउँदै जितको लक्ष्य हात पार्यो । मधेशका लागि प्रियाशुं कर्णले १३ रन बनाए । तर पहिलो र दोश्रो क्रमका व्याटर राहुल अन्सारी र आदित्य मण्डल सून्य रनमा पेभिलियन फर्किएपछि मधेश सुरुवाती क्षणमा दबाबमा परेको थियो । उनीहरुलाई सुदुर पश्चिमका डम्बर माझी र सचिन भट्टले आउट गरेका थिए । मोहमद अरमानले २० रनको योगदान दिंदा परिमार्जन यादवले ३० रनमा नट आउट रहे । सुदुर पश्चिमका लागि डम्वर माझीले २, निराजन गौतम र निरज ऐरले १–१ विकेट लिए ।

फाइनल खेलमा मधेश प्रदेशका धिरेन्द्र पासवान म्यान अफ दि म्याच बन्न सफल भएका छन् ।

गत माघ २८ गते बाट सुरु भएको प्रतियोगितामा मधेश प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित भए । उनले प्रतियोगितामा ८३ रनको व्यक्तिगत योगदान दिंदा १० विकेट हात पारेका थिए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट बलर सुदुर पश्चिमका डम्बर माझी बन्न सफल भएका छन् । उनले प्रतियोगितामा कुल १४ विकेट लिएका थिए भने मधेश प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर बन्न सफल भए । उनले कुल १५२ रन बनाएका थिए ।

प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, पूर्व संघिय मन्त्री एवं सेन्टरका उपाध्यक्ष रामकुमारी झाँक्रीलगायतले नगद ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि समापन कार्यक्रममा आफ्ना भनाई राख्दै सदस्य सचिब घिसिङले यूवा खेलाडी उत्पादनका लागि प्रतियोगिता सहायक हुने विश्वास व्यक्त गरे ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष एवं संघिय सांसद ठाकुर प्रसाद गैरेले  प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्दै खेलकुद विकासका लागि सरकारले योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताए ।

प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत वन डे फर्म्याट अन्तर्गत २५ ओभरका लिग कम नकआउट अन्तर्गत प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close