राइनो संरक्षण गोल्डकपमा पुलिसलाई हराउँदै गण्डकी उपाधि नजिक

पोखरा स्पोर्टस । नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा गण्डकी प्रदेशको फुटबल टिम उपाधि नजिक पुगेको छ ।

विभागिय टोली नेपाल पुलिस क्लबलाई सडेन डेथमा ७–६ गोल अन्तरले पराजित गर्दै गण्डकी प्रदेश छैटौँ राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

आइतबार सम्पन्न विभागिय टोली संगको खेलमा निर्धारित ९० मिनेट बराबरी खेलेपछि खेलको नतिजाका लागि टाइब्रेकरमा पुगेको थियो । सुरुवाती ५–५ पेनाल्टी प्रहारमा दुबै टिमको प्रहार गोलमा परिणत हुँदा नतिजा सडनडेथमा पुगेको थियो । सातौं पेनाल्टी प्रहार गर्ने क्रममा पुलिसका प्रविन थापा खेलाडी गोल गर्नबाट चुके । प्रविनको प्रहार क्रसबारमा लाग्दै बाहिरिए पछि गण्डकी बिजयी बन्यो ।

गण्डकी प्रदेश फुटबल टिम लामो समय पछि कुनै पनि गोल्डकपमा फाइनलमा पुगेकोमा प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले टिमले गरेको उत्कृष्ट प्रदर्शनका लागि बधाई दिएका छन् । उनले भने–“खेलको दुबै हाफमा गण्डकीले पुलिस क्लब विरुद्ध उत्कृष्ट खेल प्रदर्शन मात्रै गरेको छैन यो जितले गण्डकी प्रदेशमा सुुस्ताएको फुटबललाई जगाउने कार्य गरेको छ ।”

यसै गरी प्रदेश खेलकुद परिषदका अध्यक्ष तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले नेपाल प्रहरी टिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको बधाई दिंदै फाइनलमा जित हासिल होस भन्दै शुभकामना व्यक्त गरेको श्रीधर शर्माले जानकारी दिए । “आज मन्त्री ज्यूले समेत फोन मार्फत बधाई दिनु भएको छ । पक्कै पनि आजको जितले सबैलाई गण्डकीको फुटबल पुनः लयमा फर्किएको महशुस भएको छ ।”

खेलमा गण्डकीका सुरजजिउ ठकुरी म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार हात पारे ।

भोलि हुने दोस्रो सेमिफाइनल खेलमा अठ्ठाइस बिगाहले सेन्टर कलेज फोर ब्रदर्श भूमहीसँग सामना गर्नेछ ।

बन्यजन्तु संरक्षण चेतनाका लागि खेलकुद भन्ने मुल उद्धेश्यका साथ आयोजित उक्त प्रतियोगितामा विभागिय टोलीहरुसहित नेपालका ए डिभिजनका क्लबहरुको सहभागिता रहेको छ ।

विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र व्यवस्थापन समिति र नन्द भाउजू उपभोक्ता समिति संरक्षक रहेको राइनो क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

फाइनल खेल ९ गते हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close