एमएम कप राष्ट्रिय यू–१६ क्रिकेट : गण्डकीको लगातार दोश्रो जित

पोखरा स्पोर्टस । मनमोहन मेमोरियल क्रिकेट एकेडेमी द्वारा आयोजित मनमोहन मेमोरियल कपर राष्ट्रिय यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा गण्डकीले लगातार दोश्रो जित निकालेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा गण्डकीले कोशी विरुद्धको खेलमा ४९ रनले जित निकालेको हो । २५–२५ ओभरको खेलमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले पुरै ओभर खेल्दै ६ विकेटको क्षतीमा १७३ रन बनायो । तर जवाफी व्याटिङमा उत्रिएको कोशी २५ ओभरमा ९ विकेटको क्षतीमा १२४ रन मात्रै जोड्न सक्यो ।

जित संगै गण्डकीले सेमीफाइनलको यात्रा तय गरेको छ । उद्घाटन खेलमा गण्डकीले कर्णाली विरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।

सम्पन्न खेलमा खेलमा म्यान अफ दि म्याच समेत रहेका रोहित चन्दले २८ बलमा ३४ रनको योगदान दिए । गण्डकीका लागि युगान्त खत्रीले २९ बलमा ३२ रन बनाउँदा सरोज बहादुर खत्रीले ३० बलमा २५ रन बनाउन सफल रहे । कोशीका लागि छ ओभरको स्पेलमा १५ रन खर्चिएर २ विकेट हात पार्दा किर्ती कामत र दिव्यांश बास्तोलाले समान १–१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको कोशीका लागि शिवांस बजगाईले ३९ बलमा ३३ रन रन बनाउँदा अर्का ब्याटर रविन मण्डलले ३९ बलमा ३२ र रन्धिर कामतले १४ रनको योगदान दिए । गण्डकीका लागि समिर भुजेलले ४ ओभरको बलिङमा २२ रन खर्चिएर ३ विकेट लिए । रोहित चन्दले ३ ओभरमा १० रन दिएर २ विकेट लिंदा ५ ओभर बलिङ गरेका प्रकाश खनालले १७ रन खर्चिएर २ विकेट लिए ।

यस्तै आज नै सम्पन्न भएको खेलमा बागमतीले कर्णाली विरुद्धको खेल जितेको छ । बागमतीले कर्णाली विरुद्ध ४ विकेटले जित हासिल गरेको हो । यस अघि पारीको सुरुवात गरेको कर्णाली २१.५ ओभरमा पुरै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो ।

कर्णालीका दिपक खत्रीले ३७ बलमा ४१ रन र विपिन शर्माले १९ रन बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । कर्णालीलाई धराशायी बनाउन बागमतीका रोहित ठाकुरले ४ विकेट लिए भने शिव शक्ति महतोले ३ विकेट हात पारे । बागमतीले जवाफी व्याटिङ गर्दै २४.१ ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनायो । बागमतीका लागि शुर्यान्सु कोइरालाले नट आउट ६० रन बनाए । ६७ बल सामना गरेका उनले कुल ७ चौका प्रहार गरे । कर्णालीका लागि विपिन कोइरालाले ३ विकेट लिए । बागमतीका रोहित ठाकुर म्यान अफ दि म्याच घोषित भए । 

फागुन ७ सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत वन डे फर्म्याट अन्तर्गत २५ ओभरका १५ खेलहरु (१२ लिग, २ सेमीफाइनल र १ फाइनल) संचालन हुनेछन् । लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका छन् ।

विजेता टिमले नगद रु. १ लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले रु. ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close