पोखरामा सुरु भयो मनमोहन मेमोरियल कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगिता, गण्डकीको जित

केशव पाठक/पोखरा स्पोर्टस /तस्विर : योगेन्द्र श्रेष्ठ। पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाउँमा स्थापित मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यू–१६ पुरुष क्रिकेट प्रतियोगिता आइतबारबाट पोखरामा सुरु भएको छ । मनमोहन क्रिकेट एकेडेमीद्वारा आयोजित तेश्रो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले जितबाट सुरुवात गरेको छ । पोखरा रंगशालामा सुरु भएको उद्घाटन खेलमा गण्डकीले कर्णाली विरुद्धको खेल सुपर टाईमा पुगेर टुङ्गिएको थियो ।

अत्यन्तै रोमाञ्चपूर्ण २५–२५ ओभरको खेलमा गण्डकीले २३.५ ओभरमा पुरै विकेट गुमाउँदै १२० रन मात्रै जोडेको थियो । यता जवाफी व्याटिङ गरेको कर्णालीले २२.५ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाउँदा खेल सुपर ओभरमा धकेलिएको थियो ।

सुपर ओभरमा कर्णाले १ विकेटको क्षतीमा १० रन जोड्दा गण्डकीले ५ बलमा जितका लागि आवश्यक ११ रन जोड्न सफल भएको थियो ।

यस अघि गण्डकीका लागि आठौं विकेटका लागि मैदान आएका रुपेश थापाले सर्वाधिक ३५ रनको योगदान दिए भने अर्का व्याटर सरोज बहादुर खत्रीले ३२, दिपेन्द्र बहादुर भण्डारीले २५ र सफल श्रेष्ठले ११ रनको योगदान दिए । कर्णालीका लागि दिपक खत्री, विपिन शर्मा, आदित्य विक्रम शाह र कवी वमले समान २–२ विकेट हात पारे ।

त्यस्तै कर्णालीका ब्याटर विर्जन न्यौपानेले ३७ रन, भुपेन्द्र शाहीले २३ र आदित्य विक्रम शाहले ११ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन् । गण्डकीका लागि सोनु यादव र समिर भुजेलले समान २–२ विकेट हात पारे ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं संघिय सांसद पृथ्वीसुब्बा गुरुङले पूर्व प्रधानमन्त्री मनमोहन सालिन र ‘क्लिन’ व्यक्तित्वका रुपमा आफूलाई स्थापित गर्न सफल व्यक्तित्व मध्येको एक रहेको बताए । उनले यस प्रकारका प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउन भूमिका खेल्ने भएकोले महत्वपूर्ण रहेको जनाउँदै एकेडेमीले एक उत्कृष्ट कार्यको सुरुवात गरेको भन्दै प्रशंसा समेत गरे ।

मनमोहन क्रिकेट एकेडेमीका अध्यक्ष एवं संघिय सांसद ठाकुर गैरेले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई यूवा पुस्ता माझ परिचय गराउन नेपाल क्रिकेट संघको सहकार्यमा १६ वर्ष मुनीको क्रिकेट प्रतियोगिता सञ्चालन गरेको बताए । उनले यस अघि सम्पन्न दुई सस्करणमा सहभागि खेलाडीहरु अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा आफूलाई स्थापित गराइसकेकोले पनि यो प्रतियोगिता अझै महत्वपूर्ण रहेको बताए ।

फागुन ७ सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत वन डे फर्म्याट अन्तर्गत २५ ओभरका १५ खेलहरु )१२ लिग, २ सेमीफाइनल र १ फाइनल) संचालन हुनेछन् । लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका छन् ।

विजेता टिमले नगद रु. १ लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले रु. ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close