मनमोहन मेमोरियल राष्ट्रिय यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता पोखरामा

पोखरा स्पोर्टस । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा स्थापित सामुदायिक सेवामूलक संस्था मनमोहन मेमोरियल क्रिकेट सेन्टरले तेश्रो संस्करणको यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता पोखरामा आयोजना गर्ने भएको छ । संस्थाले काठमाण्डौमा एक पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे जानकारी दिएको हो ।

प्रतियोगिता माघ २८ गतेदेखि फागुन ७ सम्म पोखरा रंगशालामा हुने मनमोहन मेमोरियलका अध्यक्ष ठाकुर गैरेले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत उद्घाटन खेल गण्डकी र कर्णाली प्रदेशबीच हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेण्डर अनुसारको यस प्रतियोगितामा सात वटा प्रदेशबाट १/१ र आयोजक मनमोहन मेमोरियलको १ गरी  ८ वटा टिम सहभागी हुनेछन् ।

प्रतियोगिता अन्तर्गत वन डे फम्र्याट अन्तर्गत २५ ओभरका १५ खेलहरु (१२ लिग, २ सेमीफाइनल र १ फाइनल) संचालन हुनेछन् । प्रत्येक प्रदेशबाट १४ खेलाडी र २ टिम व्यवस्थापक सहित १६ जना गरी जम्मा १२८ खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका छन् ।

जिल्ला क्रिकेट संघहरुकोे समन्वयमा खुल्ला प्रतिस्पर्धाबाट खेलाडीको प्रारम्भिक छनोट र प्रादेशिक क्रिकेट संघहरुको समन्वयमा प्रदेश टिमका खेलाडी छनोट कार्य भइरहेको र माघ २६ गतेसम्म सबै टिमका खेलाडी छनोट सम्पन्न हुने आयोजकले जनाएको छ । खेलाडी छनोटका लागि मनमोहन मेमोरियल क्रिकेट सेन्टरबाट प्रत्येक प्रादेशिक क्रिकेट संघलाई सहयोग स्वरुप रु. ५० हजार उपलब्ध गराएको जनाएको छ ।

विजेता टिमले रु. १ लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले रु. ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close