
पोखरा, भूतपूर्व खेलाडी मंच नेपालले यहि फागुन ३ गते पोखरामा आयोजना गर्ने पोखरा म्याराथनको पुरुस्कार राशी यस वर्ष बढाएको छ । सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७६” का बारेमा जानकारी दिन मंचद्वारा आयोजित पत्रकार सम्मेलनमा पुरुस्कारको राशी बढाइएको जनाएको हो ।
पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आर्कषित गर्न पुरुस्कारको राशीमा वृद्धी गरिएको मंचका अध्यक्ष तेज बहादुर गुरुङले बताए । मंचले यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथमहुनेलाई २ लाख नगद प्रदान गर्ने जनाएको छ । पुरुस्कारको राशी गत वर्ष भन्दा १ लाख बढेको हो । यो गत वर्षको भन्दा दोब्बर हो । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।
पोखरा म्याराथनमा १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिएकोछ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने मंचले जनाएको छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिने छ ।

मंचले यस पटक प्रविधिलाई उपयोग गर्दै खेलाडी दर्ता समेत अनलाइन बाट गर्ने जनाएकोछ । पोखरा म्याराथनको pokharamarathon.org अनलाइन र मोवाइल एप्स बाट समेत खेलाडीले सहभागिताका लागि नाम दर्ता गर्न सक्नेभएको प्रतियोगिताका संयोजक एवम मंचका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद पराजुलीले बताए ।
पोखरा म्याराथन सफल बनाउन गत वर्ष पोखरेली मंच यूके, हङकङ नेपाली समाज, नेपाली समाज बोष्टन र न्यू ह्याम्पशायरको निकै ठूलो सहयोग रहेको बताउँदै अध्यक्ष गुरुङले यस वर्ष समेत सहयोगका लागि छलफल अगाडी बढेको बताए । ‘हामी उहाँहरुलाई धन्यबाद दिन चाहन्छौं पोखरा म्याराथनको इतिहासमा उहाँहरुले इट्टा थप्ने काम गर्नु भएकोछ ।’ यस वर्ष समेत च्यारिटीका लागि यूके बाट पूर्व भलिबल खेलाडी मन्जु गुरुङ र धावक पाण्डब महतो पोखरा आउने भएका छन । यि दुबै जना क्यान्सर जस्तो रोगलाई समेत जितेर च्यारिटी मार्फत सामाजिक अभियानमा जुटिरहेका छन ।
पोखरा म्याराथनमा रन फर फन सहित यस पटक सात हजार धावकहरु दौडने मंचले जनाएको छ । यो गत वर्षको भन्दा २ हजारले बढीहो । अध्यक्ष गुरुङका अनुसार पोखराका ४ सय भन्दा वढी विभिन्न संघ संस्थाका सदस्यहरु, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरु र खेलप्रेमीहरु सहभागिता जनाउन रंगशाला पुग्नेछन । यसै गरि पोखरा महानगर संग भगिनी सम्वन्ध रहेका विभिन्न मुलुकका शहरहरु बाट समेत धावकहरु आउने छन भने वल्र्ड पिस रनका विभिन्न देशका धावकहरु समेत पोखरा आउने अध्यक्ष गुरुङले बताए ।
पोखरा म्याराथन सम्पन्न गर्न करिब ३५ लाख खर्च लाग्ने मंचले जनाएको छ । मंचले पोखरा म्याराथनमा १ मिनेटको उत्कृष्ट भिडियो क्लिप बनाएर पेस गर्ने व्यक्तिलाई समेत पुरस्कारको व्यवस्था गरेको छ । विशेष गरी खेललाई शान्तिसँग जोड्ने लक्ष्यका साथ खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न ‘भ्रमण वर्ष २०२०’ लाई समेत १४ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले भुमिका खेल्ने मंचका सचिब कृष्ण तिमिल्सिनाले जनाएका छन ।
तस्बिरः शुदर्शन रंजित
